सूर्यदर्शन सहकारी ठगीमा रविसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिश



काठमाडौं,पुस ३ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत अपचलन गरेको अभियोगमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा दायर गर्न प्रहरीले सिफारिश गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ८५ दिन लगाएर गरेको अनुसन्धानपछि सोमवार कास्कीको जिल्ला  सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनमा ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरिएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अपराधमा मुद्दा चलाउन सकिने राय दिएको छ । प्रहरीले संस्थाका अध्यक्ष जीबी राईका साथै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र लामिछानेलाई मुख्य दोषी ठहर गरेको छ । 

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको १ अर्ब ११ करोड अपचलन भएको भन्दै जिल्ला अदालत कास्कीमा १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा लामिछानेलाई उन्मुक्ति दिएको भन्दै विरोध पनि भएको थियो । 

सांसद सूर्य थापाको संयोजकत्वमा बनेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समिति’ले सहकारीको पैसा गोरखा मिडियामा लगेर अपचलन गरेको भन्दै लामिछानेसहितलाई कारबाही गर्न सिफारिश गरेपछि प्रहरीले पुन: अनुसन्धान गरेको हो । 

प्रहरीले जोशीलाई असोज ६ गते र लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेको थियो । एकै मुद्दामा पक्राउ परेकाले पुस ६ गतेभित्र मुद्दा दायर गर्नुपर्ने बाध्यता छ । प्रहरीले प्रतिवादी बनाउन सिफारिश गरिएकामध्ये हालसम्म १४ जना मात्रै पक्राउ परेका छन् । 

संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा बहुउद्देश्यीय, वीरगञ्जको सानो पाइला र नेपालगञ्जको समानता सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा लामिछानेको संलग्नता देखिएको भन्दै कारबाही सिफारिश गरेको थियो । लामिछाने सहकारीको ऋणी नभए पनि गोर्खा मिडिया नेटवर्कमा जिम्मेवार व्यक्तिको नाताले कारबाही गर्न सिफारिश गरेको हो । 

प्रहरीले अनुसन्धान प्रतिवेदनमा लामिछानेले गोर्खा मिडिया नेटवर्कको चेकमा हस्ताक्षर गरेको, सहकारीमा ऋण तिरेकोलगायत प्रमाण पेश गरेको छ । तर, बयानका क्रममा भने उनले जीबी राईले कहाँबाट पैसा ल्याए भन्नेबारेमा आफू जानकार नभएको र प्रबन्ध निर्देशकको हिसाबले चेकमा हस्ताक्षर गरेको दाबी गरेका छन् । लामिछानेविरुद्ध काठमाडौं, चितवन, पर्सा र रूपन्देहीमा छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ । उनलाई प्रहरीले ती जिल्लामा पुर्‍याएर बयान लिएको छ । 

प्रतिक्रिया दिनुहोस्