‘कांग्रेस-एमालेलाई जनताले पत्याउन छाडे’



काठमाडौं,पुस २ । नेकपा (एमाओवादी केन्द्र) ले गत मंसिर २८ गतेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको संयुक्त सरकारले सत्ताको चरम दुरुपयोग गर्दापनि उनीहरुलाई स्थानीय तह उपनिर्वाचनमा जनताले नपत्याएको निश्कर्ष निकालेको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिको बारेमा संक्षिप्त रिपोर्टिङ गरेका थिए । त्यसपछि स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा पार्टीका प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको स्थितिको बारेमा जानकारी गराएका थिए । त्यसपछि बैठकले स्थानीय उपनिर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको र माओवादीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको निश्कर्ष निकालेको छ ।

त्यस्तै, कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगको बावजुद पनि पार्टीको जनमत ह्रास उन्मुख अवस्थामा देखिएको र उनीहरुलाई जनताले नपत्याएको माओवादीको निश्कर्ष छ । स्थानीय तह उपनिर्वाचनमा माओवादीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहको क्रियाशीलताले पनि निर्वाचन परिणाममुखी बनेको सर्कूलरमा उल्लेख छ ।

स्थानीय उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकतावद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा पनि बैठकको निश्कर्ष रहेको छ । 

प्रतिक्रिया दिनुहोस्