‘ठुला दलप्रति भ्रम फैलाउने काम भयो’



काठमाडौ,पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा सोमबार आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताए । 

एक खालको समूहले पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम गरिरहेको उनले उल्लेख गरे । महासचिव पोखरेलले भने, “लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठुला दलप्रति भ्रम फैलाउने काम भइरहेको छ ।”

पछिल्लो समय एमालेलाई  कमजोर बनाउनका लागि विभिन्न खालका भ्रामक प्रचार गरिएकाले त्यसलाई चिर्न नेता तथा कार्यकर्तालाई पोखरेलले निर्देशन दिए । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न भइरहेकाले सचेत हुन नेता तथा कार्यकर्तालाई उनले अनुरोध गरे । एमालेको विरासतलाई समाप्त पार्ने गरी विगतमा भएको षड्यन्त्रलाई एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताए । 

अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको भन्दै महासचिव पोखरेलले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताए । उनले भने, “अराजकतावाद कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन । यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्छ ।’’

प्रतिक्रिया दिनुहोस्