कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहान्छौं : मन्त्री भण्डारी



दक्षिण कोरिया,पुस १ । दक्षिण कोरियाको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताए ।

नेपाल र गणतन्त्र कोरिया बिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरिया द्वारा आयोजित कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पुराउनुपर्ने बताउँदै उनले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरे ।

महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको बताए ।

मन्त्री भण्डारीले भने,‘सामसुंग इलेकट्रोनिक्स र हुण्डाई मोटर्सले आफ्नो प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेको छ, भने कोरियाले अपर त्रिसुलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ । वैदेशिक लगानीका दृष्टिकोणबाट कोरिया महत्त्वपूर्ण साझेदार हो । नेपालमा दिन प्रतिदिन लगानीको वातावरण थप सुधार भइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्याङ्कनले समेत पुष्टि गरेको छ । नेपालमा युवा जनशक्ति, कच्चा पदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने देखिन्छ ।’

भारत, चिन, बङ्गलादेश लगायतको बजारका कारणले समेत नेपाल सम्भावना भएको मुलुक रहेको उनले जानकारी गराए । नेपालमा लगानी गरी व्यवसाय प्रवर्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरूलाई आग्रह गर्दै सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्न प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री भण्डारीले नेपाली युवालाई रोजगारी प्रदान गरेकोमा इपियस कोरिया र कोरिया सरकारलाई धन्यवाद समेत व्यक्त गरे । उनले भने, ‘नेपाली युवाले यहाँ गरेको आम्दानी र सिकेको सिपलाई सदुपयोग गरी नेपालमा उत्पादन र रोजगारीका अवसर बढाउन तर्फ लागेका छौँ ।’

कोरिया सरकारका मन्त्रीसंग उद्योगमन्त्री भण्डारीले व्यापार तथा लगानी सम्झौता गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्