बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन गर्ने तयारी
ढाका (बङ्गलादेश), पुस १ । बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।
गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो ।
उनले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र निर्वाचन गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।
“सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वार्द्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिन्छ,” उनले सरकारी टेलिभिजनमा भएको एक कुराकानीमा बताएकाछ्न ।
गत अगस्टमा ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकोप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन । हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा केही हप्तामा सयौं मानिसको मृत्यु भएको र अधिकांशको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।