महिला श्रमिकलाई खाडी मुलुकमै श्रम स्वीकृति दिइने
काठमाडौँ, पुस १ । श्रम स्वीकृति नलिई विदेशमा बस्न बाध्य घरेलु श्रमिक महिलालाई सरकारले श्रम गन्तव्यमै श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरुमा श्रम स्वीकृति लिएर विदेश गएका तर समय सकिएपछि नवीकरण गर्न नपाएका महिला श्रमिकलाई गन्तव्य देशमै श्रम स्वीकृति दिने तयारी गरेको हो । श्रम मन्त्रालयले भ्रमण भिसा र अन्य माध्यमबाट मध्यपूर्वका देश (खाडी) मा पुगेर काम गरेका घरेलु श्रमिक महिलालाई पनि दूतावासबाट नयाँ श्रम स्वीकृतिका लागि तयारी भएको जनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार श्रम स्वीकृति नपाएका कारण कतिपय महिला स्वदेश फर्कन नसकेका तथा सुरक्षित रोजगारीकै अवस्थामा रहन चाहने सबैलाई यो सुविधा उपलब्ध हुने छ ।
“श्रम गन्तव्य देशमा वैध भएर काम गरिरहेको अवस्थामा हामीले आफ्नो नागरिकलाई अवैध भनेर श्रम स्वीकृति रोक्नु गलत हुन्छ,” मन्त्री भण्डारीले भने, “पुनः श्रम स्वीकृति दिन समस्या नभए पनि भ्रमण भिसामा गएकालाई नयाँ श्रम स्वीकृति दिँदा बायोमेट्रिक गर्ने व्यवस्था मिलाउँदै छौँ ।”
मन्त्रालयका अनुसार निर्णय कार्यान्वयनमा लैजान तीन महिनापहिले नै दूतावासमा पत्राचार गरिएको छ ।