नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित



काठमाडौ,पुस १ । नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित भएकी छिन । उनले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित शर्माको ४ हजार २८२ मत आएको छ । उनका प्रतिस्पर्धी विष्टको ३ हजार २०३ मत आएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए । मंसिर २८ गते भएको निर्वाचनको परिणाम ३० गते आइतबार अबेर राति सार्वजनिक भएको हो । 

निर्वाचित शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेवारी दिएकी थिइन । उनका प्रतिस्पर्धी  विष्ट युनियनबाट विद्रोह गरी प्रेस सेन्टर लगायतका संगठनको समर्थनमा उम्मेदवारी दिएका थिए । 

निर्वाचन समितिले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य निर्वाचित भएका छन् । उनको ४ हजार २३० मत आएको छ । वरिष्ठ उपाध्यक्षका अन्य उम्मेदवारमा गोविन्द चौलागाइँलाई ५४८ मत, रोशन पुरीलाई २ हजार ८८६ मत आएको छ । 

त्यसैगरी उपाध्यक्ष (महिला) मा नितु पण्डित ४ हजार ७०५ प्राप्त गरी निर्वाचित भएकी छिन  । त्यस्तै उपाध्यक्ष समावेशीमा उमिद बागचन्दले ४ हजार ९२ मत प्राप्त गरी निर्वाचित भएका छन् । महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत प्राप्त गरी निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्