एनपिएल: चितवन प्ले अफ नजिक



काठमाडौँ, मङ्सिर २९ । शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो । 

जितसँगै चितवनले सात खेलबाट आठ अङ्क बनाएको छ । चितवनलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजा पनि पर्खनुपर्ने हुन्छ । अहिले पाँच खेल खेलेको सुदूरुपश्चिम रोयल्स र ६ खेल सकेको कर्णाली याक्सको पनि समान आठ अङ्क छ  ।

लिगमा सबै खेल सकेको जनकपुर यसअघिनै प्ले अफमा पुगिसकेको छ । जनकपुरको सात खेलबाट १० अङ्क छ ।चितवनको जितले पोखरा र विराटनगर बाहिरिएको छ । दुवै टोलीको ६ खेलबाट चार चार अङ्क छ । लुम्बिनी लायन्स यसअघिनै बाहिरी सकेको छ । 

जनकपुरका लागि जेम्स निसमले अर्धशतकीय पारी खेले । सर्वाधिक ६५ रन बनाउनुएका उहाँले २४ बलमा पाँच चौका र ६ छक्का हाने ।

निसम एनपिएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बनेका छन्  । उनले १८ बलमै अर्धशतक पूरा गरेका हुन । यसअघि  सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्