आज पत्रकार महासङ्घको निर्वाचन



काठमाडौँ, मङ्सिर २८ । नेपाल पत्रकार महासङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । पत्रकार महासङ्घ अन्तर्गत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र प्रतिष्ठान शाखाको कार्यसमिति चयनका लागि देशभर निर्वाचन हुन लागेको हो । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले तिनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । निर्वाचन हुने स्थानका सबै मतपत्रसहित निर्वाचन प्रतिनिधि पुगेर सम्पूर्ण तयारी गरिसकेको पनि उनले जानकारी दिए ।

उनले भने, “निर्वाचन निष्पक्ष, भयरहित रूपमा सम्पन्न गर्न आचारसंहिता लागु गरी सबै तयारी पूरा भएको छ । पत्रकार आफैँ सचेत र निष्पक्षताको पक्षपाती पनि भएकाले शान्त रूपमा निर्वाचन सम्पन्न हुनेमा हामी विश्वस्त छौँ ।” उनले महासङ्घको नयाँ नेतृत्वका लागि केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुने जानकारी दिए । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकिएको छ ।

निर्वाचनमा केन्द्रीय समितिका लागि तीन वटा मतपत्र रहेको र मतदान गर्न सरकारी परिचयपत्र अनिवार्य गरेको पनि निर्वाचन समितिले जनाएको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलाबी रङको मतपत्र तयार गरिएको छ । 

प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्न पाउने गरी व्यवस्था गरिएको छ । केन्द्रीय समितिको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । 

समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महासङ्घको नौ हजार पाँच सयभन्दा बढी सदस्यले प्रत्यक्ष रूपमा मतदान गरी नेतृत्व चयनमा सहभागी हुने छन् । 

प्रतिक्रिया दिनुहोस्