पोखरासँग विराटनगर १३ रनले पराजित



काठमाडौँ, मङ्सिर २७ । विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ । रोमाञ्चक खेलको सुपर ओभरमा पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाए । जवाफमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई दुई रन बनाए । विराटनगरले अतिरिक्त एक रन पाएको थियो । 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ । जितसँगै पोखराले प्ले अफ पुग्ने आशा जगाएको छ । पाँचौँ खेलमा दोस्रो जित निकालेको पोखराको चार अङ्क पुगेको छ । समान खेलमा चौथो हार खेपेको विराटनगरको दुई अङ्क छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ नै रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । यो जारी एनपिएलकै पहिलो सुपर ओभरमा पुगेको खेल हो ।  

सुपरओभर अघि पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३९ रन बनाए । यस्तै रेमन रेफरले अविजित ३४, कप्तान कुशल भुर्तेलले ३१, ओपनर दिनेश खरेल र मिचेल लिस्कले ११/११ रन बनाए । 

बलिङमा विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । उनले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गर्दै १८ रन खर्चिए । चार्स सोलले दुई विकेट झारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सता विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाए । यस्तै ओपनर लाेकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाए ।

बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए । बिहीबार नै अर्को खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबिच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्