विश्व बजारमै बढ्यो कफीको मूल्य
काठमाडौं,मंसिर २७ । अन्तरराष्ट्रिय बजारमा कफीको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ ।
मंगलवार अरबिका बिनको मूल्य प्रतिपाउन्ड (०.४५ किलोग्राम) ३.४४ डलरभन्दा बढी पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यो वर्ष अरबिका बिनको मूल्य ८० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । त्यस्तै, रोबुस्ता बिनको मूल्य भने सेप्टेम्बरमा उच्च स्तरमा पुगेको थियो ।
पछिल्लो समय कफीको मूल्यवृद्धि हुनुको कारण कफीका प्रमुख उत्पादक देशहरू खराब मौसमको प्रभावमा पर्नु र कफीको वैश्विक माग बढ्नु रहेको छ ।
कफीका प्रमुख उत्पादक देशहरू ब्राजिल र भियतनाममा खराब मौसमको प्रभावमा परेपछि विश्वव्यापी कफी उत्पादन घट्ने विशेषज्ञहरूले अनुमान गरेका छन् ।
यता कफीको वैश्विक खपत बढिरहेको छ । चीनमा कफीको खपत पछिल्लो दशकमा दोब्बर वृद्धि भएको छ ।
कफीको खपत बढेका कारण यसको मूल्य थप वृद्धि हुने सम्भावना रहेको विशेषज्ञहरू बताउँछन् । उनीहरूका अनुसार केही कफी ब्राण्डहरूले नयाँ वर्षमा मूल्य वृद्धि गर्ने विचार गर्दैछन् ।
टुआन लोक कमोडिटिजका प्रमुख कार्यकारी अधिकारी भिन्ह गुयेनका अनुसार नेस्लेलगायत कम्पनीले सन् २०२५ मा कच्चा पदार्थको मूल्यवृद्धिबारे सोचिरहेका छन् ।
इटालियन कफी विशाल कम्पनी लावाज्जाले कफीको मूल्य अत्यधिक बढेपछि मूल्यवृद्धि गर्न बाध्य बनाएको बताएको छ । ‘हाम्रो लागि गुणस्तर सबैभन्दा महत्त्वपूर्ण छ । र, सधैं उपभोक्तासँगको विश्वासको सम्झौतामा यसले आधारशिला राखेको छ,’ कम्पनीले बीबीसी न्यूजलाई भन्यो, ‘हामीलाई उच्च लागतसँग जुझ्न जारी राख्नुपर्छ, त्यसैले हामी मूल्य समायोजन गर्न बाध्य भएका छौं ।’
गत नोभेम्बरमा लगानीकर्ताहरूको एक कार्यक्रममा नेस्लेका एक शीर्ष कार्यकारीले कफी उद्योग ‘कठिन समयमा’ रहेको बताएका थिए । ती अधिकारीले कम्पनीले आफ्नो मूल्य र प्याक आकारमा समायोजन गर्नुपर्ने बताएका थिए ।
मौसमका कारण आपूर्तिमा असर
अरबिका बिनको मुख्य उत्पादक ब्राजिलले गत अगस्त र सेप्टेम्बरमा ७० वर्षको सबैभन्दा खराब सुख्खायाम र अक्टोबरमा भारी वर्षाको सामना गरेको थियो । जसका कारण उत्पादन घट्ने चिन्ता बढाएको हो ।
‘ब्राजिलको २०२५ को उत्पादनबारे चिन्ता मुख्य कारण हो,’ साक्सो बैंकका कमोडिटी रणनीतिका प्रमुख ओले ह्यान्सनले भने ।
रोबुस्ता बिनको प्रमुख उत्पादक भियतनामले पनि सुख्खा र भारी वर्षाको सामना गरेको छ । जसका कारण त्यहाँ आपूर्तिमा समस्या निम्त्याएको छ ।
‘कफीको मूल्यमा वृद्धि जारी रहने आशा गरिएको छ,’ एसएन्डपी ग्लोबल कमोडिटी इनसाइट्सकी कफी मूल्य विश्लेषक फर्नान्डा ओकाडाले भनिन् ।
कफी विश्वको दोस्रो सबैभन्दा व्यापार गरिएको कमोडिटी हो । विश्वमा सबैभन्दा व्यापार गरिने कमोडिटीको पहिलो नम्बरमा तेल पर्छ । बीबीसी