पत्रकार महासंघमा केन्द्रदेखि जिल्लासम्मै दुई प्यानल भिड्दै



काठमाडौँ,मंसिर २६ । नेपाल पत्रकार महासंघमा केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै दोहोरो भिडन्त हुने भएको छ । शुक्रबार हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

राष्ट्रिय रुपमा समाजवादी प्रेस संगठनको एक खेमा पनि युनियन–चौतारी मोर्चामा जोडिएको छ । तर नुवाकोटको जिल्ला निर्वाचनमा भने यसको खासै प्रभाव देखिँदैन । नुवाकोटमा स्पष्ट रुपमा दुई खेमामा बाँडिएर चुनाव हुने भएको छ ।

युनियन–चौतारी संयुक्त प्यानलले महासंघको नुवाकोट शाखा अध्यक्षमा नवराज सुवेदीलाई अघि सारेको छ । सुवेदी प्रेस युनियन नुवाकोटका अध्यक्ष पनि हुन् । उनको प्रतिद्वन्दी प्रेस सेन्टरका अध्यक्ष रामहरि गजुरेल छन् । नुवाकोटमा समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले अर्को खेमामा गठबन्धन गरेका छन् ।

युनियन–चौतारीको गठबन्धनबाट उपाध्यक्ष पदमा श्रीराम अधिकारीले उमेदवारी दर्ता गरेका छन् भने उनको प्रतिद्वन्दी जगदिश खनाल छन् । महिला उपाध्यक्षमा आत्मा गुरागाईँ र जमुना गजुरेल आम्नेसाम्ने छन् । सचिवमा सुनील श्रेष्ठ र सुजीत भण्डारी भिड्दै छन् । सहसचिव पदका लागि केदार ढकाल र हरि भेटुवाल आम्नेसाम्ने देखिएका छन् ।

समावेशी सहसचिव पदमा मनिषा सापकोटा र प्रितिका थापा चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्ष पदमा सुरज सिलवाल र विष्णु अधिकारीले उमेदवारी दिएका छन् ।

युनियन र चौतारीले देशै भरी संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रने निर्णय गरेसँगै ‘माथिदेखि तलसम्मै’ दुई धार तयार भएको छ ।

युनियन र चौतारीले सबै भौगोलिक तथा गैर भौगोलिक शाखाहरुमा संयुक्त प्यानल बनाएर चुनावी मैदानमा जाने घोषणा गरेका छन् । यस अनुसार प्रेस युनियनले ६ प्रदेश र प्रेस चौतारीले ४ प्रदेशको नेतृत्व पाएको छ । जिल्लातर्फ प्रेस युनियनले ४३ जिल्ला र प्रेस चौतारीले ३४ जिल्लामा नेतृत्व पाउने समझदारी भएको छ ।

साथै प्रदेश समितिको हकमा अध्यक्ष पाउने संगठनले समावेशी उपाध्यक्ष र कोषाध्यक्षसहित ८ सदस्य पाउने छ । उपाध्यक्षको नेतृत्वमा सहभागि हुने संगठनले महासचिव, सचिव, समावेशी सचिव सहित ६ सदस्य पाउने सहमति भएको छ ।

जिल्ला शाखाको हकमा अध्यक्ष नेतृत्वले महिला उपाध्यक्ष, कोषाध्यक्ष सहित कार्यसमितिको कुल संख्यामा अध्यक्षलाई एक सदस्य बढी हुने गरी सदस्य संख्या कायम हुने समझदारीमा उल्लेख छ । अर्को संगठनले भने सचिव, सहसचिव, समावेशी सहसचिव र सदस्य पद पउने छ ।

बागमती प्रदेशका १० जिल्लामध्ये प्रेस युनियन र प्रेस चौतारीले ५–५ जिल्लामा नेतृत्व बाँडेका छन् । सहमति अनुसार प्रेस युनियनले सिन्धुली, चितवन, सिन्धुपाल्चोक, नुवाकोट र रामेछापमा नेतृत्व पाउने भएको छ । त्यस्तै प्रेस चौतारीले काभ्रे, मकवानपुर, धादिङ, रसुवा र दोलखामा नेतृत्व पाउने भएको छ ।

यसै अनुरुप युनियन–चौतारी गठबन्धनले निर्मला शर्माको नेतृत्वमा महासंघमा चुनावी प्रतिस्पर्धा गर्दै छ । महासंघ केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला)मा नितु पण्डित, उपाध्यक्ष (समावेशी)मा उमीदप्रसाद बागचन्द र केन्द्रिय महासचिवमा रामप्रसाद दाहाल उमेदवार बनेका छन् ।

विभिन्न क्लस्टरका सचिवहरुमा रमेश खतिवडा, सानी शर्मा, सविन प्रियासन, अशोककुमार तिवारी, प्रकाश धौलाकोटी र बैकुण्ठराज पराजुली चुनावी मैदानमा छन् । कोषाध्यक्ष पदमा रामकृष्ण ज्ञवाली र लेखा समिति संयोजकमा केसी लामिछाने उमेदवार छन् ।

प्रदेश नेतृत्वमा पनि कोशीमा भरत खड्का, मधेशमा श्याम बञ्जारा, बागमतीमा शिव देवकोटा, उपत्यकामा मोहन पन्त, गण्डकीमा रमेश पौडेल, लुम्बिनीमा शुक्रऋषि चौलागाईँ, कर्णालीमा विष्णुप्रसाद शर्मा, सुदुर पश्चिममा भरतबहादुर शाह र एशोसियट प्रदेशमा स्मृति ढुंगाना अध्यक्षको उमेदवार छन् । प्रतिष्ठान प्रदेशमा भने रमेश वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

अर्को समूहबाट रमेश विष्ट अध्यक्षका उमेदवार छन् । उनी वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष भए पनि राजिनामा दिएर हिँडेका थिए । यस टोलीबाट वर्तमान महासचिव रोशन पुरी बरिष्ठ उपाध्यक्षको दाबेदार छन् । गंगा पौडेल (बराल) र सुभाषप्रसाद शाह उपाध्यक्षको दौडमा छन् ।

प्रेस सेन्टरको समन्वयमा तयार भएको यो गठबन्धनबाट महासचिवमा लेखनाथ न्यौपाने, सचिवहरुमा सरिता बराईली राई, श्रीजन झा, भीसन राई, वसन्त विक, विकास कार्की र उत्तरसिंह विष्ट उमेदवार बनेका छन् । कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुवकुमार रावल उमेदवार छन् ।

बागमती प्रदेशमा हेर्ने हो भने युनियन–चौतारी गठबन्धन शिव देवकोटाको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ । उक्त संयुक्त प्यानलबाट उपाध्यक्षमा हरिप्रसाद हुमागाईँ र बिमला पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । महासचिवमा राधेश्याम खतिवडा, सचिवमा श्यामप्रसाद खतिवडा र काजी श्रेष्ठ, कोषाध्यक्षमा शंकर अधिकारी उमेदवार बनेका छन् ।

अर्को खेमाबाट भने कृष्ण सारुमगरको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ । यो समूहबाट उपाध्यक्षहरुमा भोलाप्रकाश पौडेल र गीता अधिकारी उमेदवार छन् । महासचिवमा राजन दाहाल, कोषाध्यक्षमा सन्तोष भुजेल एवम् सचिवहरुमा शशिधर सुमन गैरे र चन्द्रकला खत्री उमेदवार छन् ।

विभिन्न जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने कोसिस भइरहेको छ भने कतिपय जिल्लामा त्यो सम्भव भइसकेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्