लुम्बिनी लायन्स एनपिएलबाट बाहिरियो



काठमाडौँ, मङ्सिर २६ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । 

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो । जितसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ । 

बलर जमेको दिन लु्म्बिनीले जितमा लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याए पनि सफल हुन सकेन । लुम्बिनी १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको हो । 

काठमाडौँका बलर चम्किएको खेलमा लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका कप्तान करण केसीले चार विकेट लिए । उनी पूरै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए । करण प्लेयर अफ दि म्याच बने । यस्तै दीपेश कँडेलले तीन तथा जेराल्ड इरास्मसले दुई र रसिद खानले एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए ।

डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए । बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिए । काठमाडौँको यो दोस्रो जित हो ।

जितसँगै चार खेलबाट चार अङ्क बनाएको काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ । काठमाडौँले प्ल अफ पुग्ने सम्भावना बलियो बनाएको छ । ६ खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अङ्क जोड्दै बाहिरिएको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ । 

लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । बुधबार नै भएको खेलमा सुदूरपश्चिमले जनकपुर वोल्ट्सलाई ७२ रनले हराएको थियो ।

सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्ण विराम लागेको जनकपुर आठ अङ्क सहित दोस्रो स्थानमा छ । पाँच खेलबाट समान ६ अङ्क बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमश: तेस्रो र चौथो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्