गोप्य राख्ने गरेको बीआरआइ सम्बन्धी नेपाल-चीन सम्झौताको पूर्णपाठ सार्वजनिक
काठमाडौं,मंसिर २६ । मंसिर १७ गते प्रधानमन्त्री सहित चीन भ्रमणमा गएको नेपाली टोली र चीन सरकार बीच भएको बेल्ट एन्ड रोड ( बीआरआइ ) सम्झौता सार्वजनिक भएको छ । प्राय: सार्वजनिक नगरी गोप्य राखिने नेपाल-चीन सम्झौताका दस्तावेज सार्वजनिक भएको सम्भवतः यो पहिलो पटक हो ।
नेपाल-चीन सम्झौताहरू सार्वजनिक नभएको भन्दै छिमेकी देश भारतसँगै मित्रराष्ट्र अमेरिकाले समेत पारदर्शी हुनुपर्ने बनाउँदै आएका थिए । गत आइतबार (मंसिर २३ गते ) नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्तै पारदर्शी हुनपर्ने बताएका थिए । यही सन्दर्भमा यो सम्झौता सार्वजनिक हुनलाई विषेश महत्त्वका साथ हेरिएको छ ।
५ क्षेत्र सहित १० बुँदामा भएको बेल्ट एन्ड रोड सम्झौतामा आर्थिक सहकार्य, वित्तीय क्षेत्र, यातायात, जडान र भण्डारण , व्यापार, औद्योगिक क्षमता र लगानी, सीमा शुल्क लगायतमा सहकार्य गर्ने सम्झौता भएको छ ।
पूर्वाधार, शहरी विकास परियोजनाहरू अनुसार टोखा-छहारे टनेल, हिल्सा-सीमिकोट सडक परियोजना, किमाथाङ्का-खाँदबारी सडक तथा किमाथाङ्का पुल र एकीकृत जाँच पोष्ट परियोजना, चीन-नेपाल रेल्वे परियोजना रहेका छन् ।
त्यस्तै ऊर्जा तर्फ जिलोङ-रसुवागधी-चिलिमे २२० केभी ट्रान्समिशन लाइन बनाउने उल्लेख छ भने, शिक्षा र स्वास्थ्यतर्फ मदन भण्डारी विज्ञान र प्रविधि विश्वविद्यालय रहेका छन् ।
औद्योगिक र व्यापार पूर्वाधारतर्फ चीन-नेपाल मित्रता औद्योगिक पार्क निर्माण गर्ने तथा खेल पूर्वाधारमा झापामा खेल र एथलेटिक्स परिसर निर्माण गर्ने योजना रहेका छन् ।