पत्रकार महासंघ महाधिवेशन: युनियन-चौतारी गठबन्धन, नुवाकोटको नेतृत्व युनियनलाई



नुवाकोट,मंसिर २५ । पत्रकार महासंघको महाधिवेशन यही  मंसिर २८ गते हुने भएको छ । महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीबीचको सहमति अनुसार नुवाकोटको नेतृत्व नेपाल प्रेस युनियनको भाग लागेको छ ।

युनियन र चौतारीबीचको साझा सहमति अनुसार बागमती प्रदेशका १० जिल्ला (उपत्यका बाहेक) मध्ये पाँच पाँच जिल्लाको भागबण्डा गरिएको छ । जिल्ला नेतृत्वका लागि भोलि मंसिर २६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

सो अनुसार प्रेस युनियनले नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप,सिन्धुली र चितवनमा नेतृत्व लिने छ भने चौतारीले रसुवा, धादिड.काभ्रे,दोलखा र मकवानपुरमा नेतृत्व लिने छ । दुई संगठनबीच भएको सहमति अनुसार अध्यक्ष लिनेले महिला उपाध्यक्ष, कोषाध्यक्ष र कार्यसमितिमा रहने संख्या मध्ये एक जना अध्यक्षले बढि लिने सहमति छ । उपाध्यक्ष लिनेले महासचिव,सचिव, समावेशी सचिव र सदस्यहरु लिने छ । यसरी अध्यक्षको नेतृत्वलाई बहुमत दिने सहमति अनुसार नै कार्यान्वयन गर्न सबै जिल्लालाई दुवै संगठनले सर्कुलर समेत जारी गरिसकेका छन् ।

नुवाकोटमा प्रेस युनियन र प्रेस चौतारीबीच सहमतिमा नेतृत्व चयन गर्ने लिखित सहमति भएको छ । युनियनका अध्यक्ष नमराज सुवेदी र चौतारीका अध्यक्ष नवदिप श्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गर्दै केन्द्रको निर्देशन अनुसार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । दुवै संगठनले सहमतिका लागि ढोका खुला भएको समेत विज्ञप्तिमा उल्लेख गर्दै अन्य संगठनलाई पनि सहमतिका लागि आह्रवान गरेका छन् ।

केन्द्रको सकुर्लर अनुसार नेतृत्व पाउने भएपनि नुवाकोटमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा युनियनले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्