गोरखा घटना: बलात्कारको प्रतिकार गर्दा सूचिनाको हत्या



गोरखा,मंसिर २५ । गोरखा बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित १८ वर्षीया सूचिना घलेको हत्या आरोपीलाई प्रहरीले १० दिनपछि मंगलबार सार्वजनिक गरेको छ । हत्याको आरोपमा बारपाक सुलिकोट–१ का ४३ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

मंसिर १५ गते घाँस काट्न गएकी सूचिनाको शव बारपाकस्थित मैखर्क जंगलमा डोकोसहित खाल्डामा पुरिएको अवस्थामा मंसिर १८ गते फेला पारिएको थियो । घाँस काट्न गएकी सूचिनालाई आरोपित गुरुङले बलात्कार प्रयास गरेको र युवतीले प्रतिकार गरेपछि हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए । ‘घाँस काट्न जंगल जाँदा आरोपित गुरुङ र सूचिना अघिपछि हुँदै गएको, युवती एक्लै भेटेपछि आरोपितले शारीरिक सम्पर्कको प्रस्ताव गर्छन्,’ एसपी पाठकले सुनाए, ‘युवतीले इन्कार गरेपछि उनले जबरजस्ती करणीको प्रयास गरेको र युवतीले प्रतिकार गरेपछि हत्या गरेको अनुसन्धानमा खुलेको छ ।’

‘तीन–चार पटक युवती चिच्याएको र प्रतिकारको अवस्थामा हानाहानको अवस्था भएको पनि देखिन्छ,’ उनले सुनाए, ‘युवती चिच्याएपछि म अब फस्छु जस्तो लागेर आरोपितले लडाएर घाँस र गोबर मिसिएको माटो मुखमा कोचिदिन्छन्, युवती केहीबेरमा शिथिल बनेपछि मृतकको ज्याकेटले आफ्नो कम्मरमा बाँधी मृतकले नै घाँस काट्न लगेको नाम्लोले बोकेर पहिलो घटनास्थलबाट ५० मिटरमाथि लगेर खाल्डो खनी गाडेको खुलेको छ ।’

आरोपित गुरुङले आफूले लगेको डोको र नाम्लो, उनीको टोपी सोही स्थानमा छाडेका थिए । डोको, नाम्लो र टोपीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । शवलाई एक्लै बोकेर खाल्डोमा लैजाने क्रममा आरोपितले लगाएको ‘कम्ब्याट क्याप’ सोही स्थानमा खसेको भेटिएको र अभियुक्तसँग दुवै टोपीको सनाखत समेत गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्