पत्रकार महासंघमा कांग्रेस-एमालेबीच टुंगियो भागबन्डा, ४३ जिल्लाको नेतृत्व युनियन, ३४ चौतारी
काठमाडौं,मंसिर २५ । आगामी शुक्रबार हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसनिकट पत्रकार संगठनहरुले भागबन्डा गरेका छन् । केन्द्र, प्रदेश र प्रतिष्ठानदेखि जिल्ला तहसम्मै मिलेर जाने सहमति गरेका प्रेस युनियन र प्रेस चौतारीले आज जिल्ला तहको भागबन्डा पनि टुंग्याएका छन् ।
मंगलबार टुंगिएको भागबण्डा अनुसार ४३ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् । युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ ।
दुई संगठनबीच भएको समझदारीमा युनियनका अध्यक्ष शिव लम्साल र चौतारीका अध्यक्ष गणेश बस्नेतले हस्ताक्षर गरेका छन् । महासंघको केन्द्रीय अध्यक्ष चौतारीले पाएको छ । चौतारीबाट निर्मला शर्मा उम्मेदवार बनेकी छन् । उनलाई युनियनका बागी उम्मेदवार रमेश विष्टले टक्कर दिनेछन् ।