बालिका करणीको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख शिवाकोटी पक्राउ



बिर्तामोड,मंसिर २५ । घरमा काम गर्ने बालिकालाई पटक–पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

झापा बिर्तामोड नगरपालिका ५ निवासी पूर्व नगरप्रमुख ६८ वर्षीय शिवाकोटीले घरमा काम गर्न राखिएको बालिकामाथि पटक–पटक करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

शिवाकोटीले बालिकालाई पटक–पटक बलात्कार गरेपछि घरबाट भागेर अन्यत्र जानलाग्दा नेपाल भारत सीमास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाले फेला पारी सोधपुछ गर्दा उक्त घटना बाहिर आएको हो ।

पीडित बालिकाको आफन्त नेपालमा नरहेको र भारतमा रहेका आफन्तकोमा जान लाग्दा नेपाल–भारत सीमाबाटै बालिकालाई प्रहरीले फेला पारेको जनाइएको छ ।

उक्त जाहेरीसँगै घटनामा संलग्न शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमबार घरबाटै पक्राउ गरिसकेको प्रवक्ता चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्