मुम्बईको कुर्ला पश्चिम दुर्घटनामा चार जनाको मृत्यु, २५ घाइते



मुम्बई,मंसिर २५ । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरीतर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।

प्रहरी उपायुक्त गणेश गावडेले पत्रकारहरूलाई भने,“कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ । २५ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।”

घाइतेहरूलाई कुर्लाको बीएमसीद्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पताललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो ।

करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा. पद्मश्री अहिरेले बताए । तीमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्