चार महिनामा चार सय सतहत्तर नेपाली फर्किए बन्द बाकसमा
काठमाडौँ, मङ्सिर २५ । विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमै निधन भएर बन्द बाकसमा फर्कने गरेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ४७७ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चार महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको १८ करोड १५ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा यसअघि सात लाख रुपियाँ आर्थिक सहायता दिँदै आएकोमा हाल वृद्धि गरेर १० लाख पुर्याएको छ । यसै गरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका १७४ श्रमिकले पाँच करोड ६३ लाख रुपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १३ हजार ८२३ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् ।
चालु आवको चार महिनामा दुई लाख ४२ हजार ५८३ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषण करिब छ खर्ब विप्रेषण भित्रिएको हिसाब भइरहेको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावास वैदेशिक रोजगारीका क्रममा हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताए ।