पाटेबाघको बच्चा मृत फेला



कैलाली,मंसिर २४ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।

१३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिए । 

मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताए । 

बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो । पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ । स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए ।

स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय ठाकुरद्वारा, सब डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय  निकुञ्जलाई खबर गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्