नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ
काठमाडौ,मंसिर २४ । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सोमवार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनीत श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले गण्डकी प्रदेश सभा सदस्य विमला गौतमको निधनपछि रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनीता थापालाई प्रस्ताव गरेर पठाउने विषय पनि अनुमोदन गरेको उनले बताए ।
उनका अनुसार पार्टीका भ्रातृ सङ्गठनहरुको अधिवेशन अगामी चैतभित्र सम्पन्न गर्न निर्देशन दिएकोमा तरुण दल र किसान सङ्घको परिमार्जित विधानलाई समेत पास गर्ने निर्णय भएको छ । उनले बैठकमा बिआरआई परियोजनाबारे पनि छलफल भएको बताए ।