गाउँ हाँक्छन् कैलालीका नेतृत्वकर्ता (भलमनसा) महिला



कैलाली,मंसिर २४ । कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमनसा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् ।

घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् ।

थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमनसाको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमनसा छन् । तीमध्ये छ जना महिला भलमनसा रहेका छन् । १७ सदस्यीय नगर भलमनसा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमनसा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइन्छ । 

थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमनसाले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमनसा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमनसा समितिका अध्यक्ष बुधराम चौधरी बताउछन । 

केही वर्षयता महिलाले भलमनसाको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमनसा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमनसासँगै चिराकी (सूचनावाहक) मा समेत महिला रहेको बताए । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ । 

भलमनसा सीतावीले भनिन, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमनसा छिन । उनले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्‍याएका हुन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमनसा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी छिन् । इन्द्रादेवी भलमनसा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताइन । उनले भनिन, “कुनै काम पर्‍यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमनसाले गरेको निर्णयमा सबैले साथ दिन्छन ।”

घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमनसाका रूपमा राजकुमारी चौधरी छिन । घोडाघोडी–१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमनसा भएर काम गर्न थालेको पाँच वर्ष भयो । 

उनी भलमनसा भएपछि गाउँमा चिराकी पनि महिला नै हुन । गाउँमा पुरुष भलमनसाले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उनलाई भलमनसामा गाउँलेले रुचाएको गीता चौधरीले बताइन ।

उनले भनिन, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमनसा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गरेकी छिन्  ।”   

प्रतिक्रिया दिनुहोस्