धरहरामा सर्वसाधारणको भीड, १२ दिनमै २७ लाख बढी संकलन



काठमाडौं,मंसिर २३ । नौ वर्षपछि सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लाग्न थालेको छ  । गत असोज ३ गतेबाट सर्वसाधारणका नि:शुल्क खुला गरिएको धरहरा मङ्सिर ९ गतेबाट भने  व्यावसायिक रूपमा टिकट ख्लाइएको थियो । अर्थात् सर्वसाधारणले शुल्क तिरेर मात्र धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो ।

मङ्सिर ९ गते यता १२ दिनमा नै १५ हजार भन्दा बढी सर्वसाधरणले धरहरा अवलोकन गरिसकेको धरहराका प्रशासन प्रमुख महेश राईले बताए । उनका अनुसार १२ दिनमा १५ हजार ५६२ जनाले धरहरा अवलोकन गरिसकेका छन् । जसबाट २७ लाख २४ हजार १३० रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

शनिबार सबैभन्दा धेरै सर्वसाधारण धरहरा चढ्न आउँछन् । हिजो शनिबार मात्रै २  हजार २७८ जनाले धरहरा प्रवेश गरेका थिए । दैनिक औसत १ हजार २ सयभन्दा बढीले धरहरा चढ्ने गरेका छन्  ।

व्यावसायिक रूपमा खुलाउनुभन्दा अघि ६३ हजारभन्दा बढीले धरहरा चढेको राईले बताए । हप्ताको एक दिन (बुधबार) बन्द हुने धरहरा सार्वजनिक बिदाको दिन पनि बन्द रहन्छ । काठमाडौं उपत्यकाका दृश्यावालोकन गर्न सकिने हुँदा पनि धेरै मानिस धरहरा पुग्ने गरेका छन् ।

सोलुखुम्बुका ८३ वर्षीय बिर्खे राई श्रीमती र नातिनीसहित धरहरा चढ्न पुगेका थिएँ । पहिलोपटक धरहरा चढेका उनी दङ्ग थिए । उनी यता घरी यता गरेर धरहराबाट काठमाडौंको दृश्य नियालिरहेका थिए ।

काभ्रेबाट स-परिवार धरहरा चढ्न आइपुगेका मोहन बास्तोलालाई पहिलाको तुलनामा धरहरा निकै व्यवस्थित र राम्रो लाग्यो । ‘पहिलेभन्दा धेरै राम्रो बनेको छ । पहिलापहिला हिड्नै पर्ने बाध्यता थियो । अहिले लिफ्ट राखिएको छ । यसले वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिको लागि धेरै सहज छ । मलाई त मन पर्यो’ उनले भने । प्रवेश शुल्क महँगो भए पनि सुविधा राम्रो भएको उनले बताए ।

उनीजस्तै धेरैलाई पुरानोभन्दा नयाँ धरहरा सुविधायुक्त लागेको प्रतिक्रिया दिए । शुल्क भने अलिक महँगो भएको अधिकांशको गुनासो थियो ।

कति लाग्छ शुल्क ?

सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत गरिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा मङ्सिर ९ गतेदेखि शुल्क लिई धरहरा सञ्चालन गरिएको हो ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ। 

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ । तर पार्किङ शुल्क लिने निर्णय भने कार्यान्वयनमा आइनसकेको राईले जानकारी दिए । पार्किङ चढ्ने बाहेक अन्यले धरहराको पार्किङ प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ।

अहिले धरहरा चढ्न भौतिक रूपमै टिकट लिनुपर्ने व्यवस्था छ । केही दिनपछि अनलाइन र भौतिक दुवै माध्यमबाट टिकट काट्न सकिने प्रशासन प्रमुख राईले बताए ।

१२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा सर्वसाधारणका लागि प्रवेश खुला गरिए पनि पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा निर्माण भएपनि धरहरा परिसरका संरचना पार्किङ, अर्थक्वीक म्युजियम, वाटर ट्रिटमेन्ट प्लान्ट, लाइट जडानका काम अझै सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्