रवि लामिछाने थप चार दिन हिरासतमा
पोखरा,मंसिर २३ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेल्वासेको इजलास लामिछानेसमेत चार जनालाई आइतबारबाट लागू हुने गरी हिरासतमा राख्न अनुमति दिएको हो।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पहिलो पटक ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धान भइसकेको छ। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसमेतले पोखराको सूर्यदर्शन सहकारीको रकम अवैधानिक रूपमा अपचलन गरेको आरोप छ।
गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङलाई अदालतले थुनामा राख्न अनुमति दिएको हो। उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध अभियोगमा अनुसन्धान जारी छ। लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको हो।