एनपीएल: जनकपुरको लगातार चौथो जित
काठमाडौँ, मङ्सिर २३ । रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान भएको खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले हरायो । जितसँगै जनकपुरले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार चौथो हार खेपेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
रोमाञ्चक र सनसनीपूर्ण खेलमा जितका लागि एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाए । उनले ३८ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।
बलिङमा जनकपुरका हर्ष थाकरले पाँच विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिएर पाँच विकेट लिएका हुन् ।उनी प्लेयर अफ दि म्याच भए । ललित राजवंशी, शेर मल्ल र किशोर महतोले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो । जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाए ।
उनले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिए । उनले पूरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिएका हुन् । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए ।
जितको लय जारी राखेको जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।
यस्तै लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।