दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल



सियोल,मंसिर २३ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।

उक्त प्रस्ताव अनुमोदनका लागि दुई सय मत आवश्यक रहेको थियो । महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा भएको मतदानमा राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पिपिपी)का तीन जना संसद् सदस्यबाहेक अन्यले मतदान बहिस्कार गरेपछि प्रस्ताव विफल भएको हो ।

प्रस्ताव पारित हुनका विपक्षी दलका १९२ सदस्यबाहेक अन्य (सत्तारूढ दलका) आठ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो तर प्रस्तावको पक्षमा तीन सांसदले मात्रै मतदान गरेका बताइएको छ । 

‘सैन्य कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति योललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए । सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेता समेतलाई पक्रन आदेश दिएको बताइएको छ । तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन् ।

उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन् । त्यसअघि यूनले ‘सैन्यकानुन’ लागू गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्