गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ



दोहा,मंसिर २३ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।

राजनीतिक संवादका लागि दोहा फोरममा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले भने, “अमेरिकी निर्वाचनपछि हामीले युद्धविराम वार्ताको आवश्यकता महसुस गरेका छौँ र यो समय फेरि आउँदैछ ।”

कतारी प्रधानमन्त्रीले कार्यकाल सकिँदै गरेको र नयाँ आउन लागेको अमेरिकी प्रशासनको सम्झौताप्रतिको दृष्टिकोणमा ‘केही भिन्नता’ भए पनि ‘युद्ध अन्त्य गर्ने लक्ष्यमा कुनै असहमति देखेका छैनौँ ।”

संयुक्त राज्य अमेरिका र इजिप्टसँग मिलेर कतारले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौंदेखिको असफल वार्ताका लागि मध्यस्थता गरेको थियो ।  वार्ताको उद्देश्य र युद्धरत पक्षबिचको बुझाइमा एकरूपता आउन नसक्दा कतारले तत्कालका लागि मध्यस्थताको औचित्यता सकिएको निश्कर्ष निकाल्दै जिम्मेवारीबाट पछि हटेको थियो ।

गत नोभेम्बरमा दोहाले हमास र इजरायलले ‘इच्छा र गम्भीरता’ देखाएपछि मध्यस्थता पुनः सुरु गर्ने घोषणा गरेको थियो ।

शेख मोहम्मदले भने, “राष्ट्रपति कार्यालय आउनुभन्दा पहिले नै सम्झौता हासिल गर्नका लागि आगामी प्रशासनबाट धेरै प्रोत्साहन प्राप्त भएको छ, यसले विगत दुई हप्तामा वार्तालाई ‘ट्रयाकमा फर्काउने’ कतारी निर्णयलाई बल मिलेको छ ।

“हामी जतिसक्दो चाँडो काम सम्पन्न गर्ने आशा राख्छौं हाम्रो सबै पक्षहरूको सद्भावमा संलग्न हुने इच्छा जारी रहनेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्