एनपीएल: शनिबारको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी
काठमाडौं,मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी भएको छ ।
१३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किंग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२६ रनमा समेटियो ।
कर्णालीको जितमा नन्दन यादवले चार ओभर बलिङ गर्ने क्रममा १९ रन खर्चेर ३ विकेट लिए । साथै विपिन यादवले २ तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले १–१ विकेट लिए ।
विराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसका लागि ओपनर लोकेश बमले १९ र दीपक बोहोराले १८ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्रै बनाएको थियो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।
कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुईओटा खेलमा चम्केका ओपनर शिखर धवनले व्यक्तिगत ५ रनमा आउट भए ।
कर्णाली याक्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले समान २ विकेट लिए भने अकिब इलायसले १ विकेट लिए । चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग ४ अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ २ अङ्क छ । रासस