हालको सत्ता समीकरण चलिरहन्छ : सभापति देउवा
विराटनगर,मंसिर २३ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको चर्चा गर्दै उनले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिए । नेपालले ऋणको भार बढ्न नदिन बीआरआई सम्झौताबाट विभित्र परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएकोमा उल्लेख गर्दै उनले भने, ‘एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अपठ्यारो हुने काम गर्ने छैन ।’
नेपाली ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र कांग्रेस बलियो हुने र ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्ने उनले बताए । उनले सम्मेलनमा पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन हुने जानकारी दिए । उनले भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणामअनुसार पार्टीका निम्ति सकारात्मक एवं उत्साहजनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाई पनि कांग्रेसले नै लिने बताए ।
पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरूबीच छलफल भइरहेको जानकारी दिए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने भएकाले पार्टीमा एकता हुनु आवश्यक रहेको बताए । उनले पार्टीलाई सुसङ्गठित एवं प्रभावकारी बनाउन नेतादेखि कार्यकतासम्म एकता हुनुपर्ने आवश्यकता औंल्याउँदै संविधान र व्यवस्थालाई रक्षा गर्न यो राजनीतिक समीकरण भएको स्पष्ट पारे ।