कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार



म्याग्दी,मंसिर २३ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । 

साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ÷रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । 

तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईले बताए ।   

उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ । 

रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्