‘बीआरआईका कुनै पनि परियोजना ऋणमा अगाडि बढ्दैन’- काङ्ग्रेस प्रवक्ता महत



काठमाडौं,मंसिर २२ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का कुनै पनि परियोजना ऋणमा अगाडि बढाउन नसकिने बताएका छन् । शनिबार उनले एक रेडियो कार्यक्रममा बीआरआईअन्तर्गतका परियोजनाको सम्झौता अनुदानको आधारमा मात्रै हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बीआरआईअन्तर्गतका परियोजना ऋणमा नलिने र नलिइएको प्रष्ट पारिसकेको सुनाए । ‘परियोजना सम्झौता अनुदानको आधारमा मात्रै हुन्छ । ऋण लिन हुँदैन । प्रधानमन्त्रीले अनुदान सहयोग भन्दा हामी लिँदैनौं, बीआरआईअन्तर्गत अनुदानमात्रै लिन्छौं भन्नुभएको छ । हामीले पनि त्यही भनिरहेका छौं,’– प्रवक्ता महतले भने, ‘हाम्रो बटमलाइन अनुदानमात्रै स्वीकार गर्ने हो । प्रधानमन्त्रीजीले पनि त्यही भन्नु भएको छ । परियोजना सम्झौता गर्दा हामीले स्पष्ट रुपमा भन्नुपर्छ हामी अनुदानमात्रै लिन्छौं ।’

साथै, प्रधानमन्त्री ओलीले बीआरआई परियोजना अनुदानमामात्रै स्वीकार गर्ने बताइरहेको अवस्थामा सत्ता समीकरणमा शंकट नआउने उनले बताए । उनले चीनबाट मात्रै नभएर अन्य मुलुकसँग पनि अहिले ऋण लिन नसकिने बताए । ‘अनुदान नै लिन, ऋण नलिने भनेपछि किन शंकट आउनु ? यो ऋण लिने÷ नलिने भन्ने कुरा चीनसँगको मात्रै कुरा होईन फेरि । भारत र अन्य देशहरुबाट पनि अहिले ऋण नलिने, बोझ धेरै भयो । अहिले अनुदान कार्यान्वयन गरौं भन्ने नै हो,’– नेता महतले भने ।

प्रतिक्रिया दिनुहोस्