बिरामी बोक्ने एम्बुलेन्समा लागु औषध



बनेपा, मङ्सिर २२ । राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रुपमा रहेको विपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अबैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ । 

इलाका प्रहरी कार्यालय मङ्गलटारले बिहीबार राति बिरामी बोक्ने एम्बुलेन्समा अबैध लागु औषध बरामद गरेपछि उक्त रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वको प्रहरीले विशेष सूचनाका आधारमा एम्बुलेन्समा काठमाडौँ ल्याइँदै गरिएको ठुलो परिमाणमा विभिन्न कम्पनीको लागु औषध बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घटना सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बिहीबार राति महोत्तरीको बर्दिबासबाट काठमाडौँ आउँदै गरेको ज १ च १९०८ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा लागु औषध बरामद गरिएको बताए । 

उनले सुनौलो सोनौल –२ महोत्तरीद्वारा सञ्चालित उक्त एम्बुलेन्समा चालकको सिट पछाडि रहेको क्लाउड स्टार बि नामक रातो जेब्रा झोलाबाट नुफिन लेखिएको २ एमएलका एक हजार एम्पुल, अर्को हरियो जेब्रा झोलाभित्र रहेको रियल ब्रष्ट म्याङ्गो लेखिएको कार्टुनभित्र डाइजीपाम लेखिएको २ एमलको एक हजार एम्पुल र सोही झोलाभित्र रहेको कार्टुनभित्र फेनारगन लेखिएको २ एमएलको एक हजार एम्पुल गरी तीन हजार एम्पुल लागु औषध बरामद गरिएको बताए । 

प्रहरी नायव उपरीक्षक घलेले ६ वर्षीया बिरामी बोकेर काठमाडौँ आउँदै गरेको उक्त एम्बुलेन्समा लागु औषध भेटिएपछि बिरामी बालक र उनका आमाबुबालाई अर्को एम्बुलेन्स व्यवस्थापन गरी अस्पताल पठाइएको बताए । उनले लागुऔषध बोकेको आरोपमा एम्बुलेन्स चालक धनुषा जिल्ला धनुषाधाम नगरपालिका –६ हरिपुर बस्ने ४४ वर्षीय सुरेश मिजारलाई समेत पक्राउ गरिएको बताए । 

पक्राउ परेका मिजारमाथि थप अनुसन्धानका लागि शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्