ओखलढुंगामा छ जना फरार प्रतिवादी पक्राउ



ओखलढुङ्गा, मंसिर २२ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले प्रक्राउ गरेको हो ।

जिल्ला अदालतबाट जबरजस्ती करणी र हाडनाता करणी कसुरमा दोषी ठहर भई फरार रहेका ५३ वर्षीय एक परुषलाई मोलुङ गाउँपालिका–६ चेप्टेबाट प्रहरीले पक्राउ गरेको छ ।

अदालतको २०८० चैत्र २५ गतेको फैसलाले दोषी ठहर भएका उनलाई १० वर्ष एक महिना २२ दिन कैद सजाय र तीन लाख ३० हजार जरिवाना तोकिएको थियो । उनको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

फैसला कार्यन्वयनलाई थप प्रभावकारी बनाउन फरार प्रतिवादी खोज तलास गर्ने क्रममा उनलाई पक्राउ गरी ओखलढुङ्गा जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विजय कार्कीले बताए ।

पक्राउ परेका उनलाई कैद भुक्तान तथा जरिवाना समेत असुल उपरका लागि जिल्ला कारागार चलान गरिएको छ । यस्तै, गाली बेइज्यती मुद्दामा दोषी ठहर भएका मानेभन्ज्याङ गाउँपालिका–१ का कमल बहादुर बस्नेत र चोलेन्द्र बहादुर बस्नेत, अभद्र व्यवहार मुद्दामा दोषी ठहर भएका चिशंखुगढी गाउँपालिका–८ का हितमान परियार, धनकुमारी परियार र चिशंखुगढी गाउँपालिका–३ का सुवास परियारलाई पनि पक्राउ गरि फैसला कार्यान्वयनका लागि शुक्रबार अदालतमा पेश गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

दोषी ठहर भई फरार भएका प्रतिवादीहरुको खोजी तथा पक्राउ गर्ने कार्यलाई प्रभावकारी बनाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्