सुक्खा बन्दरगाहमा लेन दुरुपयोग प्रकरण : न कारबाही, न कन्टेनर व्यवस्थापन
वीरगञ्ज,मंसिर २२ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा भनेर अर्कै (प्रतिबन्धित) वस्तु आयात गरिएको खुलासा भएको १ वर्ष बितिसक्दा पनि भन्सारले न यो धन्धामा संलग्न कर्मचारी र आयातकर्तालाई कारबाहीको दायरामा ल्याउन सकेको छ, न भन्सार हातामा अलपत्र छोडिएका सबै कन्टेनर ठेगान नै लगाएको छ । वास्तविकभन्दा फरक मालवस्तु घोषणा गरेर भित्र्याउन खोजिएका कन्टेनरको व्यवस्थापन अहिले भन्सारका लागि टाउको दुखाइ भएको छ ।
भन्सारको हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित मालसामान भित्र्याएको विषयलाई सुक्खा बन्दरगाह भन्सार कार्यालयले अझै टुंगोमा पुर्याउन नसकेको त्यहाँका अधिकारीले बताएका छन् । २०७६ सालमा भएको यस्तो अवैध धन्धाको खुलासा २०८० मंसिरमा भएको थियो । भन्सारका कर्मचारी नै कारबाहीमा पर्ने भएपछि अनुसन्धानलाई नै अल्मल्याउने काम भइरहेको भन्सार विभागका एक अधिकारीले दाबी गरेका छन् । सुक्खा बन्दरगाह भन्सारले गतवर्ष मंसिर १० गते कन्टेनर लिलामीको सूचना निकालेको थियो ।
ती अधिकारीका अनुसार बन्दरगाहमा रोकिएका कन्टेनरमा रहेका मालसामान लिलामी गर्ने प्रक्रिया चले पनि आयातकर्तालाई कारबाही गर्नेतर्फ भने उदासीनता देखिएको छ । आयातकर्ता सम्पर्कमा आएमा बयानका क्रममा कर्मचारी पनि तानिने दाबी ती अधिकारीको छ ।
वर्षौंदेखि बन्दरगाहमा रोकेर राखिएका कन्टेनर लिलामीको सूचना निकालेर कारबाही अगाडि बढाएपछि आयात प्रतिबन्ध लगाइएका मालवस्तु मिलेमतोमा भित्रिने गरेको खुलासा भएको थियो । त्यो प्रकरणमा भन्सारका तत्कालीन कर्मचारीदेखि भन्सार विभागका उच्च अधिकारीसमेतको मिलेमतोको आशंकामा विभागले अनुसन्धान अघि बढाएको थियो । तर, अहिले अनुसन्धान नै अलपत्र परेको छ ।
घोषणाभन्दा फरक वस्तु भित्र्याएका भनिएका आयातकर्ता कम्पनीलाई उपस्थित हुन पत्र काटेकोमा अहिलेसम्म ती आयातकर्ता सम्पर्कमै आएका छैनन् । हालै अनुसन्धान अधिकृत तोकिएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
सूचना निकाल्दा आयातकर्ता सम्पर्कमा नआएपछि गतवर्ष मंसिरमा भन्सार विभागको टोली नै आएर कन्टेनर खोलेर हेर्दा प्रतिबन्धित मालसामान भेटिएको थियो । त्यसबेला भन्सार विभागका उच्च अधिकारीहरूसहितको टोली वीरगञ्जमा आएर अनुसन्धान गरेको थियो ।
बन्दरगाहमा थन्किएका ३०४ ओटा कन्टेनरमध्ये १०० ओटामा घोषणाभन्दा फरक मालसामान भेटिएको थियो । यो प्रकरणमा त्यसबेला राजस्व अनुसन्धान विभागले पनि चासो राखेको थियो । कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, छोकडा, हार्डवेयरका सामानमा स्कुटर, मदिरालगायत सामान फेला परेपछि बन्दरगाह भन्सारले अनुसन्धान अघि बढाएको हो । त्यसबेला सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै केराउ, मरिच, सुपारी, छोकडा, मदिराजस्ता वस्तुको आयात रोकेको थियो ।
भन्सारले २०८० माघमा नवलपरासीको महेश्वरी ट्रेडर्स, काठमाडौंको पाथीभरा स्टोर्स, सिगोल ट्रेडिङ, बाग भैरव ट्रेडर्स र जय मुखी एग्रो ट्रेडर्सलाई सातदिने पत्र काटेर उपस्थित हुन भनेकोमा ती कम्पनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । भन्सार तीनपुस्ते पत्ता लगाएर उनीहरूको ठेगानामा प्रहरीमार्फत पत्र पठाए पनि उपस्थित गराउन सकेन ।
भन्सारले अहिलेसम्म सबै कन्टेनरको सामान लिलामी पनि गर्न सकेको छैन । विगतमा ७ पटक लिलामी सूचना निकाल्दा लिलाम नभएपछि बुधवार आठौं पटक सूचना निकालिएको भन्सार प्रमुख बरुवालले बताए । ‘४० ओटा कन्टेनरमा रहेका विभिन्न मालसामानको लिलामीको सूचना निकालिएको छ । पटकपटक लिलाम सूचना निकाल्दा नगएपछि पुनः मूल्यांकन गरेर आठौं पटक निकालेको हो,’ उनले भने । भन्सारले यसअघि नै १०० भन्दा बढी कन्टेनर खोलेर मालसामान लिलाम गरेको थियो ।
एक सय कन्टेनर मालसामान उपभोग योग्य नभएको भेटिए पनि अहिलेसम्म नष्ट गर्न नसकिएको बरुवालले बताए । लामो समयसम्म बन्दरगाहमा थन्क्याइएका छोकडा, केराउ, पोस्ता दानालगायत सामग्री कुहिएका छन् । कसरी नष्ट गर्ने भन्नेमा भन्सार विभागले निर्णय नगर्दा ढिलाइ भएको हो । कुहिएका मालसामान लोड गरिएका कन्टेनर बन्दरगाहको दक्षिणपूर्व कुनामा राखिएपछि त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।