एक लाखको सुनको तक्मासहित शिक्षकको बिदाइ
नेपालगन्ज, मङ्सिर २१ । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त भएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरिएको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले बताए ।
उनले गत ३६ वर्षदेखि सोही विद्यालयमा अध्यापनरत शिक्षिका शर्मालाई बिदाइ गर्न ठुलो सङ्ख्यामा अभिभावक र विद्यार्थी भेला भएको बताए । २०४५ साल भदौ १२ गतेदेखि ज्ञानोदयमा अस्थायी शिक्षकका रूपमा सेवा प्रवेश गरेकी शर्माले २०४८ सालमा स्थायी भई २०८१ कात्तिक ३० गते सेवानिवृत्त भएकी हुन ।
झण्डै चार दशक शिक्षकका रूपमा निरन्तर सेवारत शर्माको बिदाइमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी परिवारले गरेको यो सम्मानले शिक्षक वर्गकै गरिमा बढाएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए ।
उनले समाजमा शिक्षण पेशाप्रति बढ्दै गइरहेको निराशालाई पनि यसले उत्साहमा परिणत गर्न सहयोग पुर्याएको बताए ।