ठमेल इको रिसोर्टको ‘द गोल्डेन थाली’ मा लोभलाग्दो नेपाली खाना
काठमाडौं,मंसिर २१ । पर्यटकीय क्षेत्र ठमेलमा सञ्चालनमा आएको ठमेल इको रिसोर्टले आफ्नै परिसरमा ‘द गोल्डेन थाली’ शुरू गरेको छ । नेपालको मध्यपहाडी क्षेत्रको खाना प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले उक्त रिसोर्टले ‘द गोल्डेन थाली’ शुरू गरेको हो ।
सन् २०११ मा सञ्चालनमा आएको ठमेल इको रिसोर्टमा ५ करोड लगानी भइसकेको भन्दै रिसोर्ट परिसरमा रहेको बगैंचाको खाली स्थानमा गोल्डेन थाली सेवा दिने तयारी गरिएको रिसोर्टका प्रबन्धक विकास लम्सालले जानकारी दिए । यो रिसोर्टको व्यवसाय बढाउन रिसोर्टले यस्तो अवधारणा अघि ल्याएको उनको भनाइ छ ।
‘अहिले यो रिसोर्टमा यस्तो थालीको सेवा दिने योजना बनाइएको छ,’ लम्सालले भने, ‘राम्रो मागसहित सञ्चालनमा आएमा रिसोर्टको खाली परिसरमा थप संरचना विस्तार गरिनेछ ।’ रिसोर्टका सञ्चालकद्वय राजन सिम्खडा र मोहन लम्सालसहित सेफ नेपाल समूहको परिकल्पनामा शुरू भएको हो ।
मंगलवार उनीहरूले एक कार्यक्रम गरेर द गोल्डेन थालीका विषयमा जानकारी गराएका हुन् । उक्त समूहले गोल्डेन थालीमा ठेट नेपाली स्वाद पस्कने उद्देश्यले यो अवधारणामा काम गरिएको जानकारी दिएको छ । नेपालको मध्य पहाडी क्षेत्रको खानाको प्रवर्द्धन तथा प्रचारप्रचार र नेपाललाई प्रतिनिधित्व गर्नेगरी थाली तयार गरिएको बताइएको छ ।
रिसोर्टको यो थालीमा नेपाली खानाको आधार नै अचार मानिएको छ । यहाँ सिलौटोमा पिनेको चटनी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद थालीमा पाइने सिम्खडाले जानकारी दिए । ‘थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने प्रयास गरिएको छ,’ उनले भने, ‘गोल्डेन थालीमा मासुका परिकारसहित विभिन्न १५ परिकार समावेश गरिएको छ ।’