दक्षिण कोरियामा सैन्य कानुन घोषणा
काठमाडौ,मंसिर १९ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेका छन् । मङ्गलबार राति अबेर अचानक टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
राष्ट्रपति युनले देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न सैन्य शासन घोषणा गरिएको बताएका छन् । तर सत्तारूढ र विपक्षी दल दुवैले राष्ट्रपतिको यो कदमलाई रोक्ने बताएका छन् ।
विपक्षी डेमोक्रयाटिक पार्टीका नेता ली जे म्युङले सैन्य शासनको घोषणा असंवैधानिक रहेको बताएका छन् । युनकै सत्तारूढ पिपुल पावर पार्टीका प्रमुख हान दोङ हुनले पनि सो कदमको विरोध गर्दै त्यसलाई रोक्ने बताएका छन् ।