उपनिर्वाचन: इतिहास बोकेकै दल अनुमोदित
काठमाडौँ, मङ्सिर १९ । स्थानीय तहका ४४ स्थानमा रिक्त पदका लागि मङ्सिर १६ गते सम्पन्न निर्वाचनको परिणामले राजनीतिक परिवर्तनका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेकै दललाई जनअनुमोदन प्राप्त भएको देखिएको छ ।
तीन पदमा निर्विरोध भएपछि ४१ पदका लागि भएको निर्वाचनमा राणाशासनदेखि पञ्चायत, शाहवंशीय निरङ्कुशतासम्म लडेका राजनीतिक दललाई नै नागरिकले स्थानीय सरकारको नेतृत्व सुम्पिएका हुन् । राजनीतिक विश्लेषक एवं अग्रज लेखकहरूले पनि राजनीतिक रूपान्तरणका लागि त्याग, बलिदान र सङ्घर्ष गरेका राजनीतिक दललाई जनमत प्राप्त भएको बताएका छन् । राणाशासन, पञ्चायत हुँदै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न जनआन्दोलन र सशस्त्र सङ्घर्ष गरेका दललाई खबरदारीसहित स्थानीय सरकारको सत्ता चलाउने जनादेश दिएको उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिका प्रमुख र १६ वटा वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिका दुई पदमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका थिए । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का ११ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार आठ स्थानमा विजयी भए । त्यसै गरी मधेश आन्दोलनबाट उदाएको पूर्वमन्त्री उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी नेपालले पनि सप्तरीका दुई वटा वडा जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीका एक–एक र स्वतन्त्र एक जना निर्वाचित भएका छन् ।
नयाँ दलमा रुचि देखिएन: राजनीतिक विश्लेषक झलक सुवेदी
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितले स्थानीय तहको उपनिर्वाचनमा इतिहास बनाएकै दललाई जनताले विश्वास गरेको बताए । राजनीतिक विश्लेषक हरि रोका चाहिँ उपनिर्वाचनको परिणामले सत्ता साझेदार दललाई बलियो खबरदारी गरेको बताउछन् ।
विश्लेषक सुवेदीले पुराना दल र आफूले भरोसा गर्ने व्यक्तिलाई नै मतदाताले नेतृत्व प्रदान गरेको बताए। उनले भने, “साना र नयाँ दल उदाउँदै, बन्दै गरेका हुन्, संस्थागत हुँदै गएका हुन् । इतिहास रचिसकेका दल होइनन् । ती दलको प्रदर्शन स्थानीय तहको उपनिर्वाचनमा आशातीत र उत्साहजनक छैन ।”
उनले निरन्तर नेतृत्व गरिरहेको पार्टी पङ्क्तिबाट स्थानीय सरकारको नेतृत्वमा छनोटसम्बन्धी अभ्यास पनि नागरिकले राम्रैसँग गरेको देखिएको बताए । उनले भने, “पहिले कांग्रेसले जितेको ठाउँमा अहिले एमालेले, एमालेले जितेको ठाउँमा माओवादी वा कांग्रेसले जितेको देखियो । माओवादीको आधार क्षेत्रमा कांग्रेसले जित्ने, कांग्रेसको गढमा माओवादीले जित्ने । उपनिर्वाचनमा जे भयो, यसले मतदाता स्थानीय नेतृत्व आफ्नो अनुकूलको बनाउनका निम्ति सचेत छन् भन्ने पनि सन्देश आएको छ ।” प्राडा पण्डितले स्थानीय सरकारको नेतृत्व आफू अनुकूलका व्यक्तिसँगै काम गर्न सक्ने व्यक्ति हेरेर मतदान गरेको देखिएको बताए । उनले युवा निर्वाचित हुनु, शिक्षित र योगदान गरेको व्यक्ति पनि विजयी हुनुले मतदानको पद्धतिमा परिवर्तनको सङ्केत देखिएको बताए ।
उनले भने, “सत्ता साझेदार कांग्रेस एमालेलाई खबरदारीसहितको सन्देश हो यो । राजनीतिलाई नयाँ दिशा प्रदान गर्नु पर्छ, कांग्रेस, एमाले र माओवादीलाई जिताउनुको सन्देश यही हो । संविधान संशोधन, राजनीतिक बेथिति अन्त्य गर्न र अर्थतन्त्र चलायमान बनाउन एक भएर काम गर्नु भन्ने सन्देश उपनिर्वाचनले दिएको छ ।”
उनले कांग्रेस र कम्युनिस्ट घटकलाई बराबरी जस्तै नेतृत्व प्रदान गरेर नागरिक तहबाट राष्ट्रिय स्वार्थमा एकैसाथ अगाडि बढ्न दबाब दिएको बताए । उनले मतदाताले पुराना दललाई अनुमोदन गरे पनि सुशासनका पक्षमा, त्रुटि हटाउन दबाब दिनकै लागि काठमाडौँ महानगरपालिका वडा नं. १६ मा रास्वपालाई मत दिएको बताए ।
विश्लेषक रोकाले कांग्रेस, एमालेलाई नागरिकले खबरदारी गरे पनि माओवादी केन्द्रले सङ्ख्यामा कुनै ठुलो छलाङ नमारेको बताए । उनले भने, “माओवादीको बढोत्तरी होइन, एक दुई स्थानमा जितेर फाइदा निकालेको हो तर यसको अर्थ २०६४ कै निर्वाचनको अवस्थामा पुग्यो भन्ने चाहिँ होइन । माओवादीले ठुलै सफलता हासिल भयो भन्ने होइन । साना दलप्रति पनि नागरिकको भरोसा देखिएन ।”
विचारका आधारमा प्रतिस्पर्धा
राजनीतिक विश्लेषक झलक सुवेदीले लोकतन्त्रलाई बलियो बनाउन, जनसहभागिता सुनिश्चित गर्न र नियमित निर्वाचनले लोकतन्त्रको ढाँचा बलियो बनाउन सहयोग पुग्ने बताए । उनले भने, “सहभागिता शान्तिपूर्ण भयो । दलहरूले विचारका आधारमा प्रतिस्पर्धा गरे । यो लोकतन्त्रका विकासका हिसाबले सकारात्मक हो ।”
प्राडा गान्धी पण्डितले पनि राजनीतिक रूपान्तरणसँग आर्थिक विकासको मुद्दामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने सन्देशसहित नागरिकले विचारकै आधारमा नेतृत्व छानेको बताए तर राजनीतिक विश्लेषक हरि रोकाले उपनिर्वाचनमा स्थानीय सरकारको सन्दर्भमा खसेको मत न्यून नै मानिने बताए। उनले भने, “यो चुनावप्रतिको वितृष्णा छ भन्ने सन्देश पनि हो । नागरिकमा निर्वाचनप्रति उत्साह देखिएन भन्ने छ । युवा देशमा छैनन् । मत घट्नु पनि चिन्ताजनक कुरा हो । गठबन्धन सरकारलाई नागरिकले रुचाएनन् भन्ने देखियो । प्रदेश र स्थानीय तह स्वतन्त्र र स्वायत्त छ भन्ने देखिएन ।”