साढे १० लाख पर्यटक आउँदा स्थलमार्गबाट कति ?
काठमाडौं,मंसिर १९। सन् २०२४ को ११ महीनामा १० लाख ५७ हजार २६२ पर्यटक नेपालमा आउँदा १ लाख १० हजार ८०४ स्थलमार्गबाट नेपाल प्रवेश गरेको अभिलेख छ । सन् २०२४ को शुरूदेखि नै पर्यटक आगमन बढेका बेला स्थलमार्गबाट आउने पर्यटक पनि बढेका हुन् । सन् २०२४ को नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार स्थलमार्गबाट आउने पर्यटक सबैभन्दा धेरै मार्च र नोभेम्बरमा आएको देखिएको छ । सन् २०२४ को मार्चमा मात्रै स्थलमार्ग हुँदै १९ हजार ११९ पर्यटक नेपाल आएका थिए । त्यसपछि नोभेम्बरमा बढी छन् । उक्त महीना १७ हजार ६५१ पर्यटक स्थलमार्ग हुँदै आएको देखिन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी, फेब्रुअरी, मार्चसम्म स्थलमार्गबाट आउने पर्यटकको संख्यामा क्रमशः सुधार देखिन्छ । अप्रिलदेखि अगस्टसम्म भने स्थलमार्गबाट आउनेको संख्या क्रमशः कम हुने गरेको देखिन्छ । सेप्टेम्बरदेखि भने स्थलमार्ग हुँदै आउनेको संख्या क्रमशः बढेको देखिएको छ ।
ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले स्थलमार्गबाट आउने धेरै पर्यटक भारतीय हुने गरेको बताए । खासगरी भैरहवा, सुनौली नाका, विराटनगरबाट धेरै आउने गर्छन् । ‘स्थलमार्गबाट आउने धेरै पर्यटक खासगरी भारतीय र भारतमा आउने विदेशी पर्यटक स्थलमार्ग हुँदै नेपालमा आउने गर्छन्,’ पाण्डेले भने, ‘विदेशी पर्यटक हिमाल हेर्न आउने माउन्टेन पर्यटक सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, मार्च, अप्रिल, मेमा आउने गर्छन् ।’