आन्तरिक राजस्व विभागको सर्भरमा ५ दिनदेखि समस्या
काठमाडौं,मंसिर १९ । पी.एस.आर मल्टी ट्रेड प्रालिका सञ्चालक रञ्जन पाण्डेले शुक्रवारदेखि कर कार्यालयमा अनलाइन कर विवरण बुझाउन खोज्दा बुझाउन सकिरहेका छैनन् ।
‘लगइन नहुने, फाइल अपलोड नहुने समस्या देखियो धेरै पटक प्रयास गरेर विवरण पठाउँदा दखिला गर्न मिलेन,’ पाण्डेले भने, ‘सबै अनलाइनबाट गर्नु भनिएको छ तर विवरण बुझाएर कर दखिला समयमै गर्न खोज्यो, सिस्टमले कामै गर्दैन ।’ उनी जस्तै अरु करदाताले समेत सरकारलाई कर तिर्न हैरानी खेप्नुपरेको छ ।
कर कार्यालयहरुका अनुसार आन्तरिक राजस्व विभागले राखेको नयाँ सर्भरमा समस्या आएको र पुरानो सर्भरबाट काम चलाउदा करदातालाई दिने सुविधा प्रभावित भएको हो । ‘नयाँ सर्भरमा समस्या आउँदा पुरानो सर्भरबाट काम चलाइएको छ,’ कर कार्यालय नयाँ वानेश्वरका एक कर अधिकृतले भने, ‘पुरानो सर्भर पनि चुस्त छैन ।’
त्रिपुरेश्वर कर कार्यालयका अर्का कर अधिकृतले पनि सर्भरमा समस्या आउँदा सेवा प्रवाह चुस्त हुन नसकेको बताएका छन् । ‘दिनमा १० पटक फोन गरेर समस्या आउँदा पनि विभागले समस्या सुन्दैन,’ एक अधिकृतले भने, ‘सेबाग्राही मात्रै नभएर हामी पनि हैरान भएका छौं ।’
आन्तरीक राजस्व विभागका एक उच्च अधिकारीका अनुसार नयाँ सर्भरमा अनावश्यक फाइलहरु धेरै अपलोड गरिएका कारण समस्या आएको हो । ‘फाइलहरु हटाएर समस्या समाधानका लागि टिम लागिपरिरहेको छ, छिट्टै समस्या समाधान हुनेछ,’ विभागका एक उच्च अधिकारीले बताए । उनका अनुसार इन्जिनियरको टिम आन्तरीक राजस्व विभागमा बलियो नहुँदा पनि समास्या समाधान निकै पेचिलो बन्ने गरेको छ ।
समयमै कर विवरण नबुझाए सरकारले जरिवाना गर्ने गरेको छ । तर सिस्टम बलियो नहुँदा समयमै कर तिर्न करदाताले हैरानी खेप्नुपरेकोप्रति विभाग गम्भीर बन्न नसकेको करदाताहरूको गुनासो छ ।