आन्तरिक तर्फको हवाई भाडा थप महँगियो



काठमाडौं,मंसिर १८। हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दर बढाएको हो ।

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै प्राधिकरणले आन्तरिक तर्फको भाडा पनि बढाएको छ । गत मंसिर १५ गते नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाइएको थियो ।

प्राधिकरणका अनुसार आन्तरिक तर्फ विराटनगर धनगढीको भाडा सबैभन्दा धेरै अर्थात् १२५ रुपैयाँ वृद्धि भएको छ । यसअघि ८ हजार ११५ रुपैयाँ रहेको थियो । तर, अब भने ८ हजार २४० रुपैयाँ कायम भएको छ ।

यस्तै, नेपालगञ्ज–भद्रपुर भाडादर पनि ११५ रुपैयाँ वृद्धि भई ७ हजार ४८० रुपैयाँ पुगेको छ । यता, विराटनगर–नेपालगञ्जको पनि ११० रुपैयाँ बढेर ६ हजार ८७५, सिमरा–धनगढीको १०५ रुपैयाँ बढेर ६ हजार ४९५, जनकपुर–धनगढीको पनि ११० रुपैयाँ बढेर ७ हजार २५ रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरि काठमाडौं–धनगढीको ९० रुपैयाँ, जनकपुर–नेपालगञ्ज ८५ रुपैयाँ, पोखरा–भद्रपुर ८० रुपैयाँ, विराटनगर–भैरहवा ८० रुपैयाँ, भैरहवा– भद्रपुर ९० रुपैयाँ, सिमरा –नेपालगञ्ज ८५ रुपैयाँ वृद्धि भएको छ ।

उक्त वृद्धि भएको भाडादर भोलि अर्थात् मंसिर १९ गतेदेखि लागू हुनेछ । सोही अनुसार नै भाडा कार्यान्वयन गर्न–गराउनका लागि प्राधिकरणले निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्