एनपीएलमा जनकपुर बोल्डको लगातार दोस्रो जित



काठमाडौं,मंसिर १८ । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्डले लगातार दोस्रो जित हासिल गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा  सोमवार सम्पन्न दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्याे । 

१४२ रनको मध्यम लक्ष्य पाएको जनकपुरले १५.१ ओभरमै २ विकेट गुमाएर जित हासिल गर्याे । टिमका लागि सर्वाधिक रन बनाएका कप्तान अनिल साहले अविजित रहँदै ६२ रन बनाए । अर्का प्रारम्भिक ब्याटर आशिफ शेखले ३६ रन जोडे । यस्तै, लाहिरु मिल्न्थाले २४ रनको योगदान दिए । जेम्स निशम भने १६ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका जिशन मक्शुद र मौसम ढकालले १–१ विकेट लिए । अन्य चार खेलाडी भने विकेटविहीन भए । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको कर्णाली याक्सले ७ विकेट गुमाउँदै १४१ रन जोडेको थियो । टिमका लागि सर्वाधिक रन भने गुल्झन झाले बनाएका थिए । उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, अर्जुन क्षेत्रीले ३३ र सोमपाल कामी ले २९ रन बनाएका थिए ।

कर्णालीबाट खेलिरहेका भारतका पूर्वस्टार शिखर धवन भने सस्तैमा आउट भएका थिए । उनले १४ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाएका थिए । 

बलिङतर्फ जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिएका थिए । यस्तै, ललित राजवंशी, किशोर महतो, जेम्स निशम र हर्ष ठाकेरको नाममा १–१ विकेट रह्यो । 

जनकपुरले यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो । सोमबार नै भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्