झापा र सुनसरीबाट मेशिन मेड चाइनिज इँटा भारत निर्यात
विराटनगर,मंसिर १८। नेपालका दुई पूर्वी जिल्लाहरू— झापा र सुनसरीबाट भारतमा मेशिन मेड (चाइनिज) इँटा निर्यातको प्रक्रिया थालिएको छ । यसले नेपाली उद्योगका लागि नयाँ बजार र अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ । झापाको मेचीनगर–१५ स्थित सरिया ग्रीन ब्रिक इन्डस्ट्रिज प्रालि र सुनसरीको तावाचे ब्रिक एन्ड टायल्स उद्योगले हालै भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा इँटा निर्यात गर्न थालेका छन् ।
यी उद्योगको निर्यातले भारतको उत्तरी क्षेत्र, विशेष गरी पश्चिम बंगाल, आसाम, मेघालय र विहारमा इँटाको कम आपूर्ति र बढ्दो मागलाई सम्बोधन गर्दै नेपाली उत्पादनको लागि नयाँ अवसर सृजना गरेको छ ।
कोशी प्रदेशमा अहिले ८० ओटा इँटा उद्योग छन् । तीमध्ये ४० ओटा सञ्चालनमा रहेका छन । वार्षिक १६ करोड इँटा उत्पादन भइरहेको व्यवसायीको भनाइ छ । इँटा उद्योगमा १६ हजार मजदूर काम गर्छन्, जसमा ८० प्रतिशत पश्चिम बंगालको कुचविहारबाट प्रत्येक वर्ष हिउँदमा आएर काम गर्छन् र वर्षा शुरू हुनासाथ फर्कन्छन् । वार्षिक रूपमा ३ अर्ब १६ करोड रुपैयाँ बराबर कारोबार इँटा उद्योगहरूले गर्छन् ।
ती उद्योगले प्राय:जसो परम्परागत हाते प्रविधिबाट इँटा उत्पादन गर्दै आएका छन् । यसबाट स्थानीय माग धानिएको छ । मेशिनबाट उत्पादन हुने इँटामा झन्झट र खर्च बढी हुने भएकाले पश्चिम बंगालबाट आउने मजूदरको भरमा कोशी प्रदेशका इँटा उद्योगहरू चलिरहेका छन् । दशैं, तिहारलगत्तै मजदूर आएर हातले काँचो इँटा बनाउन शुरू गर्छन् । मङ्सिरभित्र उद्योगहरूले इँटा पोल्ने काम शुरू गर्छन् ।
भारतको सिलिगुडी क्षेत्रको निर्माण उद्योगमा इँटाको उच्च माग रहेको बताइएको छ । यस क्षेत्रमा मेशिन निर्मित (चाइनिज) इँटाको उपयोग बढ्दो छ । यसले गर्दा नै नेपालमा उत्पादित उच्च गुणस्तरीय इँटाको निर्यात सम्भव भएको हो । सरिया ग्रीन ब्रिक इन्डस्ट्रिज प्रालिका निर्देशक रजनीश कर्नानीका अनुसार हालै तीनओटा ट्रकमा ३० हजार प्रिमियम चाइनिज इँटा सिलिगुडी पठाइएको छ । कर्नानीका अनुसार यो निर्यात परीक्षणका लागि पठाइएको नमूना स्वीकृत भइसकेको छ । पुसदेखि लगातार निर्यात गरिने उनले बताए ।
नेपालमा उत्पादित चाइनिज इँटाका विशेषता बलियो र आकर्षक डिजाइन, उचाइको माप र टिकाउपन हुन् । यही कारणले भारतीय उपभोक्ताबीच यसको माग निकै उच्च रहेको बताइन्छ । भारतीय बजारमा मेशिनबाट निर्मित (चाइनिज) इँटाको कमी देखिएपछि विशेष गरी सिलिगुडीमा सस्तो र गुणस्तरीय इँटाको माग बढेको हो । नेपालमा इँटाभट्टामा एउटा चाइनिज इँटाको मूल्य १७ देखि २० रुपैयाँसम्म पर्छ ।
सिलिगुडीमा भारतका अन्य क्षेत्रबाट मेशिन निर्मित इँटा ल्याउँदा २ हजार २०० किलोमीटरभन्दा बढी दूरी ढुवानी गर्नुपर्ने भएकाले नेपालको सीमानजिक पर्ने झापा र सुनसरीका उद्योगले त्यहाँका निर्माण परियोजनालाई आपूर्ति गर्न सहज भएको हो । सिलिगुडीबाट नेपालका इँटा उद्योगको दूरी करीब १०० किलोमीटर मात्र हो ।
सुनसरीको तावाचे ब्रिक एन्ड टायल्स उद्योगले पनि हालसालै भारतको सिलिगुडी क्षेत्रबाट ५ लाख इँटाको अर्डर प्राप्त गरेको जनाएको छ । तावाचे इँटा उद्योगका सञ्चालक अध्यक्ष अनिल अग्रवालका अनुसार असोज अन्तिम हप्ता १५ हजार इँटाको नमूना पठाइएको थियो । उक्त नमूना स्वीकृत भएको छ । सिलिगुडीका इन्जिनीयरहरूले मेशिनबाट बनेको ५ लाख इँटाको अर्डर दिएको उनले बताए । अग्रवालले उद्योग विभागबाट माघमा मात्र इँटा उद्योगको फायरिङ गर्नू भन्ने आदेश प्रदेश मन्त्रालयमा आए पनि आफूहरूले मागबमोजिम आपूर्ति गर्न मङ्सिरमै फायरिङ (इँटा उत्पादन) शुरू गर्ने बताए । इँटा उद्योग हिउँदमा मात्रै सञ्चालन हुने भएकाले सरकारले मिति तोकेर यो महीनामा उत्पादन गर भनेर उद्योगहरूलाई बाध्य पार्न नसक्ने उनले बताए ।
भारतबाट माग आएपछि केही प्रतिस्पर्धीका कारण पनि सरकारले यस्तो अव्यावहारिक आदेश दिएको उनले खुलाए । मङ्सिरमा अधिकांश इँटा उद्योगले इँटा पोल्न थाल्छन् । मङ्सिरमा इँटा पोल्न शुरू नगरे वैशाखमा पानी पर्न थाल्छ र काँचो इँटा गल्न सक्छ । यसो हुँदा बजारमा इँटाको माग र आपूर्तिको सन्तुलन बिग्रन्छ ।
कोरोना कालपछि आएको आर्थिक मन्दीको कारण इँटा उद्योगको अवस्था दयनीय रहेको र क्रमश: बन्द हुने क्रममा रहेको कोशी इँटा व्यवसायी संघका सल्लाहकार रमेश भगतले जानकारी दिए । उनका अनुसार कोरोना कालमा इँटाको मूल्य २४ रुपैयाँ प्रतिगोटा थियो, अहिले २० रुपैपाँ छ । तर कोइला, बैंक ब्याजदर, श्रमिक, माटो सबैको मूल्य बढेको छ । बजारमा इँटाको माग र मूल्य भने घटिरहेको छ ।
यही बेला सरकारले भ्याटबाहेक प्रतिइँटा १० पैसाको दरले कर थपिदिएको छ । यसले इँटा उद्योगहरू क्रमश: बन्द हुने अवस्थामा पुगेको भगतको भनाइ छ । इँटा उद्योग बचाउन सरकारले कर छूट र कोइलामा अनुदान दिनुपर्नेमा भगतले जोड दिए । भारत निकासी भइरहेको मेशिन निर्मित इँटाको निर्यात पनि दीर्घकालीन नभएको उनले उल्लेख गरे । सीमाक्षेत्रका भारतीय बजारमा नेपाली इँटाको बजार विस्तार गर्न सरकारले नै रणनीति बनाएर अघि बढ्न सके मात्र दीर्घकालीन बजार विस्तार हुन सक्ने उनको भनाइ छ । एउटा प्रोजेक्टका लागि ५ लाख इँटाको माग आउनुलाई दीर्घकालीन बजार विस्तार मान्न नसकिने उनको कथन छ ।
आर्थिक मन्दीका कारण पछिल्लो समय नेपालको आन्तरिक बजारमा इँटाको माग घट्न थालेपछि उद्योगहरूले छिमेकी मुलुकमा बजारको सम्भावना खोजेका थिए । झापा र सुनसरीका उद्योगहरूले निर्यात वृद्धि गर्ने र भारतको निर्माण बजारमा स्थान बनाउने सोच राखेका छन् । सरिया ग्रीन ब्रिक इन्डस्ट्रिज झापामा पहिलो स्वचालित मेशिनबाट चाइनिज इँटा उत्पादन गर्ने उद्योग हो । उक्त उद्योगका प्रबन्धक विवेक पुरीले उद्योगले दैनिक १ लाख ५० हजार इँटा उत्पादन गर्दै आएको र आगामी दिनमा उत्पादन क्षमता ३ लाख इँटा प्रतिदिनसम्म पुर्याउने योजना रहेको उल्लेख गरे । सुनसरीको तावाचे उद्योगले भने २५ वर्षदेखि मेशिनबाट इँटा उत्पादन गर्दै आएको छ । यस उद्योगले वार्षिक ६० लाखसम्म इँटा उत्पादन गर्छ । उद्योगले सिलिगुडीमा निर्यात थालेपछि २० लाख थप इँटा उत्पादन गर्ने लक्ष्य लिएको छ ।