बीउ बिजनको क्षेत्रलाई प्रविधिमा आधारित बनाउँदै लैजानुपर्छ- कृषिमन्त्री अधिकारी
काठमाडौं,मंसिर १८ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बीउ बिजनको क्षेत्रलाई प्रविधिमा आधारित बनाउँदै लैजानु कृषि क्षेत्रको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
बीउसम्बन्धी निर्माण गरिएको सफ्टवेयर ‘देसिस–२’ को सोमबार काठमाडौंमा शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको सन्दर्भमा बीउ बिजनको वितरणलाई डिजिटलाइजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने अपेक्षा व्यक्त गरे ।
‘सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ,’ मन्त्री अधिकारीले भने । कृषि, पर्यटन, ऊर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको भन्दै मन्त्री अधिकारीले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले यस सफ्टवेयरमार्फत गुणस्तरीय बीउ बिजनमा किसानको सहज पहुँच हुने अपेक्षा पनि व्यक्त गरे ।विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफटवयेर निर्माण गरिएको हो । यसमार्फत तीनै तहका सरकारबीच बीउ बिजन वितरणलाई डिजिटलाइजेसन गरि गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईंले बताए ।