वाइडबडी जहाज खरिद प्रकरण : २५ लाख डलर घुस लेनदेन गरेको आरोपमा शर्मा दोषी ठहर
काठमाडौं,मंसिर १७ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको आरोपमा व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन् । नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मालाई अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) एफसीपीएले दोषी ठहर गरेको हो ।
यसबारे एफसीपीएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।वायुसेवा निगमको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा शर्मा ‘एजेन्ट’ का रूपमा देखिएका थिए ।
निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइड बडी जहाज बिक्री गरेको थियो । त्यसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।
नेपाली सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्मा र उनको टोलीले अमेरिका, आयरल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायत देशमा बैंक खाता खोलेको प्रतिवेदनमा छ ।
विभिन्न देशमा बैंक खाता खोली निगमले पठाएको रकम स्थानान्तरण गरी करिब २५ लाख अमेरिकी डलर बराबर रकम नेपाली सरकारी अधिकारीहरू र विदेशी सरकारी अधिकारीहरूलाई घुस खुवाउन शर्माले मध्यस्थता गरेको एफसीपीएले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।