१५ जडीबुटी चीन निर्यातका लागि प्रारम्भिक प्रक्रिया शुरू



काठमाडौं,मंसिर १७ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा नेपालका १५ प्रकारका जडीबुटी चीनले आयात गर्ने भने पनि ती जडीबुटी हालसम्म नेपालबाट निर्यात हुन सकेको छैन । सरकारी अधिकारीका अनुसार नेपाली जडीबुटी चीन निकासीका लागि अहिले चिनियाँ क्वारेन्टाइन मापदण्ड पूरा गर्ने गरी काम अघि बढिरहेको छ । चिनियाँ प्रतिनिधिसमेत यहाँ आएर नेपाली जडीबुटी आयात गर्न योग्य छ/छैन अध्ययन गरेको उनीहरूले जानकारी दिए । चीन जडीबुटीको सबैभन्दा ठूलो उत्पादक र निर्यातक देश हो ।

२०८० असोज पहिलो साता भएको तत्कालीन प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा जडीबुटी निर्यातका लागि दुई देशले फाइटोसेनेटरी प्रोटोकलमा हस्ताक्षर गरेका थिए ।

नेपालबाट चीनमा कृषि र औषधिजन्य जडीबुटी निर्यातका लागि क्वारेन्टाइनसम्बन्धी प्रतिबन्धहरू प्रमुख अवरोधका रूपमा देखा परेकाले अहिले तिनै प्रोटोकल पूरा गर्ने गरी काम अगाडि बढाइएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले बताए ।

उनका अनुसार नेपालबाट निर्यात हुने जडीबुटी रोग तथा कीरामुक्त हुनुपर्छ । साथै चीनको जैविक सुरक्षा कानून, पशु तथा वनस्पतिजन्य वस्तुको प्रवेश तथा बहिर्गमनका लागि तय भएको क्वारेन्टाइन कानून र खाद्य सुरक्षा कानूनले तय गरेका व्यवस्था पालना गर्नुपर्ने छ । चीनको कानूनअनुसार नेपाली जडीबुटी आयातयोग्य छ कि छैन भन्ने जाँच गर्न केही महीनाअघि चीनबाट पाँचओटा अध्ययन टोली नेपाल आएर अध्ययन गर्नुका साथै नेपाली पक्षलाई अभिमुखीकरण तालिम दिएको उनले बताए ।

‘यहाँको जडीबुटी चिनियाँ प्रोटोकलअनुसार छ भनेर प्रमाणित गर्न थप केही अध्ययन र सर्वे गर्नुपर्ने भएकाले चिनियाँ टोली फेरि नेपाल आउनुपर्छ । उक्त टोलीले सबै कुरा अध्ययन गरेर प्रमाणित गरिसकेपछि मात्रै नेपाली जडीबुटी चीन निर्यात गर्न सकिन्छ,’ उनले भने । नेपालबाट सीमित मात्रामा कीटनाशक औषधीय बिरुवा भने चीन जाने गरेको वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ । नेपालबाट चीनमा हेलेज घाँस निर्यात गरेपछिको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा सरकारले यसलाई हेरेको छ । गतवर्ष असारमा नेपालले पहिलोपटक चीनमा हेलेज जातको प्रशोधित घाँस निर्यात गरेको थियो ।

सुन्तला जातका फलफूल आयात गर्न चीनले थाल्यो तयारी

चीनले नेपालबाट सुन्तला जातका फलफूल आयात गर्ने तयारी थालेको सरकारले बताएको छ । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलफूल निर्यातका लागि सहमति भएको थियो ।

नेपालबाट जुनार र सुन्तला लैजान यतिबेला चीनले केरुङ नाकामा सुपरभिजन फेसिलिटीसहितको कोल्ड स्टोर निर्माण शुरू गरेको मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले बताइन् । उनका अनुसार चीनले पाली सुन्तला र जुनार लैजान खोजेको छ । त्यसका लागि चिनियाँ व्यवसायीको टोलीले पटकपटक नेपाली बगैंचाहरूको निरीक्षण गरिसकेको उनले बताइन् । चीनको प्रोटोकल पास भए आगामी वर्षदेखि चीनमा सुन्तलाजन्य फलफूल निर्यात हुने सम्भावना धेरै भएको शिवाकोटीको भनाइ छ । दुई देशबीचको सहमति कार्यान्वयन गर्न प्रोटोकलअनुसार नर्सरी दर्ता, बगैंचा दर्ता तथा व्यवस्थापनका कार्यक्रमहरू यसअघि नै सिन्धुली र स्याङ्जा जिल्लामा शुरू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्