११ महिनामा १० लाख ५५ हजार पर्यटक भित्रिए



काठमाडौ,मंसिर १७ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको  तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

उक्त  तथ्यांक अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ । 

नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए ।

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको  तथ्यांकमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए । 

बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले बताए । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । 

विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले बताए । “हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ”, उनले भने, “पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । 

लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।” करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ । 

भारतीय पर्यटक घट्दा चिनियाँ बढ्दै

बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार ९१५ पर्यटक आएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा १८.५ प्रतिशतले कमी हो । गत वर्षको नोभेम्बरमा २४ हजार ४४३ भारतीय पर्यटक नेपाल आएका थिए ।
संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ र चीनबाट नौ हजार ४५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गतवर्षको सोही महिनाको तुलनामा अमेरिकन ४.२ प्रतिशतले कमी हो । गत वर्ष अमेरिकाबाट ११ हजार ४६१ पर्यटक नेपाल आएका थिए । गत वर्ष नोभेम्बरको तुलनामा चीनबाट नेपाल आउने पर्यटकको संख्या २४.४ प्रतिशतले बढेको छ । गतवर्षको नोभेम्बरमा मात्र ७ हजार ६०२ पर्यटक नेपाल आएका थिए । 

यस्तै, संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ५११, बङ्गलादेशबाट ५ हजार ५४८, अष्ट्रेलियाबाट ४ हजार ८२९, थाइल्याण्डबाट ४ हजार २६२, श्रीलङ्काबाट ४ हजार ३९५, जर्मनीबाट ३ हजार ९२६ र फ्रान्सबाट ३ हजार ८४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

कुन महिनामा कति पर्यटक आए 

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक आएका  तथ्यांकमा उल्लेख छ । नोभेम्बरमा १ लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार २३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्