मत परिणाम निर्वाचन आयोगको वेबसाइटमा अद्यावधिक गरिने
काठमाडौ,मंसिर १६ । स्थानीय तह उपनिर्वाचन, २०८१ को मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत अद्यावधिक गर्ने भएको छ । आयोगका अनुसार मतदान सम्पन्न भएर गणना सुरु भएपछि निरन्तर अद्यावधिक गरिने छ ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले गणना सुरु भएपछि आयोगले आफ्नै संयन्त्रमार्फत अद्यावधिक गर्ने बताए । उनले छिटोछरितो र अद्यावधिक निरन्तर गर्ने कार्यलाई प्रभावकारी बनाउन गणनामा खटिने जनशक्ति र अद्यावधिक गर्ने जनशक्तिलाई प्रशिक्षण दिइएको जानकारी गराए । आयोगका अनुसार ‘रिजल्ट डट इलेक्सन डट जिओभी डट एनपी’ मार्फत मतगणनाको परिणाम अद्यावधिक गरिने छ ।
स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत यही मङ्सिर १६ गते आइतबार ४१ पदका लागि मतदान हुँदै छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने छ । आयोगले मतदान सकिएपछि मतपेटिका सङ्कलन गरिने र सर्वपक्षीय सहमतिमा तत्कालै गणना सुरु गरिने जनाएको छ ।नगरपालिकाका प्रमुख र उपप्रमुख एक/एक गाउँपालिकाका अध्यक्ष दुई र उपाध्यक्ष चार तथा वडाध्यक्ष ३३ गरी ४१ पदको लागि मतदान हुने छ ।