प्रधानमन्त्री भोलि चीन जादै



काठमाडौ,मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन्  । 

यसैबिच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शनिबार छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको भ्रमणलाई सहज र सफल बनाउन आवश्यक सबै खालका तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयसँग छलफल र परामर्श गर्दै आवश्यक कागजी दस्ताबेजहरूको व्यवस्थापनसँगै सम्भावित सम्झौताकारी निकायका उच्चाधिकारीसँग पनि परामर्शसँगै भ्रमण व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार भ्रमणका लागि आवश्यक सबै खालका वस्तुगत र सारगत व्यवस्थापनसहितको तयारी भइरहेको छ । यो भ्रमणले नेपाल र चीनबिच विगत लामो समयदेखिको सहकार्य र साझेदारी सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा सम्पर्क सञ्जालको विकास, व्यापार तथा पारवहन, लगानी, पर्यटन, पूर्वाधार विकास, कृषिलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा यस पटक थप छलफलसहित सहयोग विस्तार हुने अपेक्षा गरिएको उनले जानकारी दिए । बिआरआई परियोजनासहित विविध विषयमा छलफल जारी रहेको जानकारी दिँदै उनले भ्रमणलाई सफल बनाउन उच्च स्तरमा पहल भइरहेको प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्